माओबादी छापामार र प्रहरी युवतीबीचको प्रेम कस्तो होला ?

पोखरा, २० जेठ /दशवर्षे जनयुद्धलाई विषय बनाएर अहिलेसम्म थुप्रै फिचर तथा छोटो फिल्महरु निर्माण भैसकेका छन् । कतिपय त्यस्ता फिल्मले दर्शकको साथ पाएका पनि छन् त कतिपयले राम्रो प्रभाव छाड्न सकेका छैनन् ।

पछिल्लो पटक यस्तै विषयमा संचारकर्मी विष्णु गौतमले एउटा छोटो फिल्म बनाईरहेका छन् । ‘ऐना’ नाम दिएर छायाँकन भैरहेको फिल्ममा विष्णु गौतम आफै प्रमुख भुमिकामा देखिएका छन् । फिल्मलाई पोखरा फिल्म सोसाईटीको सहयोगमा श्यामशुक्ला फिल्म प्रोडक्शनले निर्माण गरेको हो ।

फिल्ममा विष्णुसँगै म्याग्दीका सम्झना सिर्पाली प्रमुख भुमिकामा देखिएका छन् । ‘यो फिल्म खासगरि सशस्त्र द्वन्दको बेलाको घटनालाई आधार बनाएर निर्माण गर्न लागिएको हो ।’ फिल्मका निर्देशक तथा मुख्य अभिनेता विष्णु गौतमले भने–‘शहरमा बसेर पत्रिका बेच्दै राज्यपक्षको चियो गर्ने माओबादी गुप्तचर र बेश्याको भेषमा शहरमा रहँदै आएका माओबादीको चियो गर्ने सशस्त्र प्रहरी अधिकृत युवतीबीचको प्रेमलाई हामीले फिल्ममा समेटेका छौँ ।’

माओबादी छापामार र प्रहरी युवतीबीचको प्रेम कस्तो होला ?
माओबादी छापामार र प्रहरी युवतीबीचको प्रेम कस्तो होला ?

उनले अगाडि थपे–‘यी दुई पात्र आपसमा कसरी जोडिन्छन् । र, त्यसको परिणाम के हुन्छ ? भन्ने कुरालाई हामीले फिल्ममा देखाउन खोजेका छौँ । फिल्म जम्माजम्मी १५ मिनेटको हुनेछ ।’ फिल्ममा कुनै डाईलग नहुने गौतमले जानकारी दिए । फिल्ममा माओबादी गुप्तचरको रुपमा गौतम आफैँ र सशस्त्र प्रहरीको गुप्तचरको रुपमा सम्झना सिर्पाली देखिँदैछन् ।

यो फिल्म २०५६ देखि ५८ सालको परिवेशमा हुनेछ । फिल्मको कथा पोखरा फिल्म सोसाईटीको हो भने यसको पटकथा महेश भाजुले लेखेका हुन् । फिल्मलाई प्रकाश गुरुङ ‘काश’ले खिच्दैछन् भने यसको सम्पादन घनश्याम लामिछानेले गर्नेछन् । फिल्मलाई असार महिनामा हुने ‘ह्यूमन राईट्स फिल्म फेस्टिभल’मा स्क्रिनिङ गर्नका लागि चाँडो तयार गरिने निर्माणपक्षले जनाएको छ । त्यो भन्दा अगाडि यो फिल्मको काठमाण्डौ बागबजारस्थित ‘बागबजार प्लाजा’मा असार ४ गते प्रदर्शन गर्ने कार्यक्रम तय भएको निर्माण कम्पनीले बताएको छ ।

फिल्मलाई अन्य फेस्टिभलहरुमा पनि पठाईने निर्माणकम्पनीका घनश्याम लामिछानेले बताए । यो फिल्मको एशोसियट डाईरेक्टरमा दिपेश सापकोटाले काम गरिरहेका छन् ।

कमेन्टहरु
Loading...