जसु निर्देशित फिल्म ‘कर्म क्याँ’ जेठ १५ मा प्रर्दशन हुने

पोखरा, १२ जेठ/जसु गुरुङ निर्देशित गुरुङ फिल्म कर्म क्याँ (कर्मको बाटो) प्रर्दशन जेठ १५ गते हुने भएको छ । फिल्मको प्रर्दशन पोखराको पुर्णिमा चलचित्र हलमा हुनेछ । विहान ८ बजे, मध्यान्न १२ बजे र दिउँसो ३ बजे गरी तीन सो देखाइने निर्देशक गुरुङले जानकारी दिएकी छन् ।

‘कर्म क्याँ’
‘कर्म क्याँ’

उनले दिएको जानकारी अनुसार फिल्मको भिआपि सो भने जेठ १३ गते भवरकोट पाटी प्यालेसमा साँझ ६ बजे हँुदैछ । दुइ घण्टा लामो यो फिल्म हेर्दा दर्शकले भरपुर रुपमा फिल्मको मजा लिन सक्ने उनको दावी छ । १४ लाख भन्दा बढीको लगानीमा बनेको यो फिल्ममा तीन वटा गीत रहेका छन् ।

फिल्मको लमजुङको नाल्मा र भिम्डा गाँउमा छायांकन गएिको हो । देखेको होइन कर्ममा लेखेको नै हुन्छ भन्ने सन्देश फिल्ममा दिन खोजिएको उनले बताइन् । करिब २५ वर्ष पुरानो गुरुङ गाउँको परिवेशको कथालाइ फिल्मको माध्यमबाट दर्शकमाझ पस्केकोले यसलाई नयाँ तथा पुराना दुवै पुस्ताले महत्वका साथ हेर्नेमा उनी आशावादी छन् । ‘पुरानो कला, संस्कृति र रहनसहनलाई मैले फिल्ममा समेट्ने कोशिष गरेकी छु’ जसुले भनिन् ।

फिल्मका निर्मातामा लोकबहादुर गुरुङ र धर्ममाया गुरुङ, सहनिर्देशकमा गजेन्द्र गुरुङ, छायांकन भेषबहादुर गुरुङ, कथा शंकर गुरुङ (बतासे)को रहेको छ । यस अघि भाग्य र आगे ठागुमा अभिनय गरिसकेका सुजित गुरुङ फिल्ममा नायकको रुपमा देखिएका छन् । मनाङे नानी र मेलामा अभिनय गरिसकेकी रिया गुरुङले नायिकाको भुमिका निभाएकी छन् । फिल्ममा गजेन्द्र गुरुङ, सितला गुरुङ, बालकलाकार मञ्जु गुरुङका साथमा गाउँका स्थानीय कलाकारको अभिनय गरेको उनले बताइन् ।

फिल्ममा संगीत धन बहादुर गुरुङले भरेका छन्् । गुरुङ फिल्म नास मु ह्रैगो, जुनीजुनी, च्हचमी, सुराग, गेटपास, जुनीजुनी, लगायतका आधा दर्जन गुरुङ फिल्ममा सह–निर्देशनको जिम्मा लिई आफ्नो क्षमता प्रर्दशन गरिसकेकी उनले यस फिल्म कर्म क्याँ (कर्मको बाटो) बाट निर्देशनमा हात हालेकी हुन् ।

कमेन्टहरु
Loading...