मिस एसएलसी नेपालमा पोखराबाट ६ युवती

पोखरा, २२ बैशाख/काठमाण्डौ, झापा र धरानपछि पोखरामा मिस एसएलसी नेपालको अडिसन भएको छ । पोखरामा सोमबार भएको अडिसनबाट ६ जना युवतीहरु अघिल्लो चरणका लागि छनौट भएको आयोजक फेशन प्लसले जनाएको छ । पोखरामा यो ईभेन्टको व्यवस्थापनको जिम्मा क्रिष्टल क्लज डान्स ईन्स्टिच्यूटले लिएको छ । पोखरापछि आयोजकले चितवनमा यो ईभेन्टको लागि अडिसन गर्ने जनाएको छ । ‘पोखरामा अडिसन सफल रह्यो ।’ ईभेन्ट व्यवस्थापनको जिम्मा लिएको क्रिष्टल क्लज डान्स ईन्स्टिच्यूटका गोविन्द बाँस्तोलाले भने–‘निकै प्रतिभावान प्रतिस्पर्धीहरु पोखराले पठाएको छ । उहाँहरुले राम्रै नतिजा ल्याउने कुरामा हामी ढुक्क छौँ ।’

नेपालका मुख्य शहरहरुमा गरिने अडिसनबाट करिब ७० जनाको हाराहारीमा युवतीहरुलाई अघिल्लो चरण प्रवेश गराईने आयोजकले बताएको छ । यसअगाडि काठमाण्डौमा भएको अडिसनबाट ३५ जनालाई छनौट गरेको आयोजकले झापा र धरान गरि करिब ५० जनालाई अघिल्लो चरणका लागि छनौट गरिसकेको छ ।

सोमबार पोखरामा भएको अडिसन कार्यक्रममा साहित्यकार कल्याण पन्त, संचारिका समुहको अध्यक्ष जमुना वर्षा शर्मा, निर्देशक गोविन्द बाँस्तोला, ईभेन्ट को–अर्डिनेटर नेहा घिमिरे र आयोजक संस्था फेशन प्लसका म्यानेजिङ डाईरेक्टर मिमोह श्रेष्ठ निर्णायक रहेका थिए ।

मिस एसएलसी नेपालको प्रशिक्षण जेठको ३ गतेदेखि काठमाण्डौमा शुरु हुनेछ । विभिन्न चरणमा प्रतिस्पर्धीहरुलाई प्रशिक्षण दिईने आयोजकले बताएको छ । जेठको अन्तिम साता यो ईभेन्टको ग्राण्ड फिनाले हुने उसले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...