मः जीवनको नविन यात्रामा

जीवनका विभिन्न आरोह–अवरोह, उकाली–ओराली, सुख–दुःख अनि हाँसो–रोदनका पलहरुलाई आत्मसाथ् गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेकी छु । जिन्दगीको यो मोडसम्म आइपुग्दा मैले जे जस्ता पीर, व्यथा, दुःख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यसभित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । ‘अचानोको पिँडा खुकुरीलाई थाहा हुन्न’ भनेझैं समयको दुस्चक्रले ममाथि प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पीडाहरु केवल मलाई मात्र थाहा छ ।

म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो, जसमा तिखा काँडा, ठूला–ठूला पत्थर अनि आगोका ज्वालाहरु छरपस्ट भएर छरिएका छन् । मैले मेरो जीवनको बाटोमाथि छरपस्ट ती काँडाहरुलाई पन्छाउनु पर्नेछ । पत्थरहरुलाई फुटाउनु पर्नेछ, अनि आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ । ‘के म यसो गर्न सकुँला र ?’ आँफैसंग प्रश्न गर्थें । आफ्नै प्रश्नमा आँफैले उत्तर दिन्थें, ‘कि हुती हारेर मर्नु पर्छ, कि त हिम्मतका साथ अघि बढ्नुपर्छ ।’ अतः मैले मृत्युलाई रोजिनँ, जीवनलाई नै रोजें । अनि जिन्दगीका हरेक समस्याहरुसंग जुध्दै क्रमशः अगाडि बढ्दै गएँ ।

‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ वर्षदेखि एक्लै हिँडिरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । ‘अब उठ्नै सक्दिन कि ।’ भन्ने कमजोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ । महिनै पिच्छे करिब हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले १ गिलास पानीसंगै औषधिको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ ।

मनभित्र गाँठो परेर बसेका अव्यक्त बहहरुलाई बोकेर हिंड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथि बोकेर हिंड्नुभन्दा पनि कठिन रहेछ । तर मैले मेरा बहहरु व्यक्त गर्ने कोसंग ? मैले साथीसंगतीहरुको भीडमा आँखा डुलाएर हेरें । तर मेरो पीडालाई महसुस गर्न सक्ने कोही देखिन । आफन्तको घेरामा खोजें, तर माइतीमा शरण लिएर बसेको म, एकल नारीले आफ्नो पीडा पोखेर माइतीलाई थप तनाव दिनुहुन्न भन्ने मनन् गरें । अतः मेरो हरेक दुःखमा म एक्लै रोएँ, पीडाहरुमा आँफै सम्हालिएँ, अनि अनेकन समस्याहरुसंग एक्लै जुधिरहें ।

‘मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवनसाथी खोज्नको लागि नसुझाएका पनि होइनन् । तर एकपटक पुछिएको सिउँदोमाथि पुनः सिन्दुर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरु पाइन्छ र ? फुटेको चुरासंगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ? अनि विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुनः फर्काएर मेरो जीवनमा खुसीको रंग भरिदिने कुनै दयालु मन पाइएला र ? लौ, भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी व्यक्ति पनि पाइयो रे, अनि के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्विकार गर्ला र ?’ म मेरा हितैषीहरुलाई प्रश्न गर्थें ।

आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पीडालाई भुलाउने एउटा बाहना पाएकी छु । मेरो अतीतलाई सहर्ष स्वीकार गरी मसंगै सुख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु । म, जीवनको दुःखद अध्यायलाई बन्द गरेर खुसीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु । त्यसो भन्दैमा मैले मेरो अतीतलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन ।

अतीतका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नवीन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन । तर मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनि साथीसंगतीहरु, अग्रज र दिग्गज व्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नुभएको हौसला, साहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु । यति हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवश्य छ, ‘के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्विकार गर्ला र ?’

मलाई थाहा छ, ‘श्वेताको आँखामा आँसु मात्रै देखिनु पर्छ ’ भन्ने सोंच बोकेका २/४ जना व्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गीय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने, तर घरकी विधुवी बहिनीले पुरै जीवन एक्लै काट्नुपर्छ भन्ने सोचले ग्रस्त केही व्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर म प्रती साहनुभुति राख्ने, मलाई सदैव खुसी देख्न चाहने अनि संधै मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकको आशिर्वाद, सदभाव र सुभेक्षाले मप्रति रिस र इष्र्याको सोंच राख्ने २/४ जनाले स्वतः हार खानेछन् ।

अतः कोरोनाको सन्त्रासका बीच जुरेको खुसीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य व्यक्तित्वहरु, संचारकर्मीज्युहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु । महामारीको यो माहौलमा सीमित व्यक्तिहरुलाई साँक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दै गर्दा तपाईंहरु सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वास लिएकी छु ।

उही तपाईंकी छोरी/चेली

श्वेता खड्का

कमेन्टहरु
Loading...