नेपाली कम्युनिष्ट आन्दोलनको जाज्वल्यमान नक्षत्र तथा जनताको वहुदलिय जनवादका संस्थापक कमरेड मदन भण्डारीको षड्यन्त्रमुलक अवाशान भएको दिन पारेर २०७५ जेठ ३ गते नेपालको कम्युनिष्ट आन्दोलन भित्रबाट संसदिय संघर्षमा आँफुलाई अब्बल सावित गरेको नेकपा(एमाले) र जनयुद्धको बाटो हिंडेकाहरु मध्येको मूल घटक नेकपा( माओवादी केन्द्र)को एकिकरण पश्चात् वर्तमान् नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को जन्म भएको हो। यस्तो काहालिलाग्दो दुखद् दिन पारेर गरिएको पार्टी एकिकरणको पूनित कार्यले मदन भण्डारीले भनेझैं नेपालका सर्वहारा, मेहनतकस, श्रमजीवि वर्गको राजनैतिक प्रतिनिधित्व गर्ने पार्टीको आवस्यकता पुर्ति गर्नेछ, देशलाई शोषण, उत्पिडन र विभेदहरुबाट मुक्त गर्न सकरात्मक भूमिका खेल्नेछ र लोकतन्त्र, जनजिविका र नेपाली समाजको आर्थिक-सामाजिक रुपान्तरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ भन्ने कुरामा कतै कतै आंशिक आसंका देखिएको भएता पनि ब्यापक रुपमा आसा अनि विस्वास जागृत भएको थियो।
देशमा वर्षौं देखि रहेको दलाल नोकरशाहि पूँजिवादी शोषण र सामन्तवादका आर्थिक, सामाजिक र सांस्कृतिक अवशेषहरुलाई निमिट्यान्न पारी स्वाधिन राष्ट्रिय अर्थतन्त्रको जगमा समृद्ध नेपालको निर्माण गर्ने वचन वद्धता जाहेर गर्दै जनता विच गएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई स्थानिय, प्रदेश र संघिय निर्वाचनमा अकल्पनिय जनसमर्थन प्राप्त भयो। ५३% लोकमत प्राप्त यस पार्टिले झण्डै दुई तिहाईको समर्थनमा संघिय सरकार मात्र गठन गरेन, ७ वटा प्रदेश मद्धे ६ वटा प्रदेश र ७५३ स्थानिय तहहरु मध्ये ४०३ तहहरुमा आफ्नो सरकार गठन गर्यो।
यस अकल्पनिय विजयको पछाडि केन्द्रिय नेतृत्वले जगाएका जनताका मुर्छित सपनाहरुको प्रत्याभूति त थियो नै, यस्का अतिरिक्त पार्टी एकिकरणको राप र तापले सिर्जना गरेको उर्जा र पार्टीमा बर्षौंदेखि संगठित भई प्रशिक्षित पार्टिका जनआधारित कार्यकर्ताहरुको ब्यापक पङ्ति थियो। कार्यकर्ताको यो पङ्ति आम जनसमुदाय संगको घनिष्ट सम्बन्ध रहेको, उत्पिडन, शोषण, अन्याय, असमानता र विभेद विरोधि छवी बोकेको र देश, जनता र परिवर्तन प्रति अगाध विश्वासले लैस भएको हुनाले ब्यापक जनताको मन जितेको थियो । यो विजयले पार्टीलाई उस्को सिद्धान्तको मार्गदर्शन र आम जनसमुदायको चाहाना अनुरुपको जनताको जनवाद, बैज्ञानिक समाजवाद अर्थात् संविधानले उल्लेख गरेको समाजवाद उन्मुख समाजको निर्माण तर्फको प्रस्थान विन्दु प्रदान गरेको थियो र यस विन्दुवाट लक्षित ठाँउसम्मको यात्रा सम्पन्न गर्न जनादेश प्रदान गरेको थियो। यो युगिन जिम्मेवारी उच्च नैतिक आचरण र बैज्ञानिक दृष्टिकोण युक्त, निस्वार्थ, निस्पक्ष र स्वच्छ छवी भएका राजनैतिक ब्यक्तिहरुद्वारा नेतृत्व गरिएको जन आधारित, सुसंगठित, एकताबद्ध, गतिशिल, जुझारु, नयाँ सोच सहितको अग्रगामी पार्टीको निर्माणबाट मात्र सम्वभ थियो।
दुई भिन्न मान्यता सहित विकशित झण्डै सत्रुवत् सम्बन्ध रहेका दुई पार्टीहरुले दशकौंसम्म एक अर्कालाई निषेध गर्ने प्रयत्न गर्दा असफल भैसके पछि ब्यापक जनदवाव र तत्कालिन चुनावी उपलब्धिलाई मध्यनजर गरी हतारमा सामान्य औपचारिक प्रकृया मात्र पुरा गरी पार्टी एकिकरणपूर्व निर्धारण गरिनु पर्ने अधिकांश विषयहरुलाई थाति राखेर सामान्य गणितिय आधारमा निर्माण गरिएका पार्टिका केन्द्रिय, प्रदेश र स्थानिय संगठनहरु र ति संगठनहरुमा प्रविधिक रुपले चयन गरिएका नेतृत्व वर्गद्वारा युगिन जिम्मेवारी वहन गर्न कठिन हुनु र नेतृत्वमा ब्यक्तिगत र गुटगत स्वार्थ हावी हुनु निश्चित प्राय: थियो।
फलस्वरुप पार्टी एकिकरणको छोटो अवधि पश्चात् नै पार्टीको उच्च नेतृत्व आफ्नो क्षमता, दक्षता, लगनशिलता र कम्युनिष्ट विचारप्रतिको प्रतिवद्धतालाई उचित उपयोग गर्दै पार्टीको वर्चस्व भएका तिनै तहका सरकारहरुलाई आवस्यक निर्देशन र सहयोग गर्ने, राष्ट्रियता, जनजिविकाका सवालहरु र आपतकालिन अवस्थाको उचित ब्यवस्थापनमा योजनावद्ध रुपले लागेन। बरु पार्टी एकिकरणको मुल मर्म र पार्टीको युगिन दाइत्वलाई चटक्क विर्सदै आफ्नो विगतका सफलताका कथाहरुवाट सिक्नुको साटो कम्युनिष्ट आन्दोलनको दिर्घ रोगको अवशेषलाई निरन्तरता दिंदै अपवित्र समिकरणहरु निर्माण गर्ने र ब्यक्तिगत र गुटगत स्वार्थ पुर्तिमा रमाउने प्रवृत्तीको सिकार भयो। सिङ्गो पार्टी, कम्युनिष्ट आन्दोलन र मुलुक दिशाविहिन अवस्थामा पुग्यो।
पार्टिको नेतृत्वमा देखिएको किमकर्तब्यविमुढताको अवस्थाले र नेताहरुमा आँफुलाई पार्टीले दिएको जिम्मेवारी प्रतिको उत्तरदाईत्व वहन गर्नै पर्ने सोचको अभावले पार्टीको आधारभूत क्षेत्रमा काम गर्ने, विधानत: पार्टीको सार्वभौम अधिकार निहित रहेका पार्टीका संगठित र साधारण सदस्यहरु र उनीहरुको पृय पार्टी विचको सम्बन्ध सुमधुर बन्न त सकेन नै विच्छेद जस्तै भयो। पार्टी एकिकरणको छ महिना भित्र उनीहरुको पहिचान भैसक्नु पर्ने र उनीहरुले परिचय पत्र पाउनु पर्ने र दुई वर्ष भित्र उनीहरुको सार्वभौम अधिकारको प्रयोग हुने गरी महाधिवेशन गरिनु पर्नेमा हालसम्म झन्डै तिन वर्ष बित्नै लाग्दा पनि एक अर्कालाई असफलताको बिल्ला भिराउन खप्पिस पार्टीका नेताहरुको ध्यान त्यता पुगेको छैन। हुनत, पार्टीका संगठित सदस्यहरु समान हुन्छन् तर मर्मस्प्रधि कुरा के छ भने नेपाल कम्युनिष्ट पार्टी भित्र कुनै पनि पार्टी कमिटि, वा आयोग, वा विभाग, वा संयन्त्र, वा पार्टी सेल, वा तोकिएको संगठनमा संगठित नभएका लाखौं संगठित पार्टी सदस्यहरु छन्।
यि निरिह संगठित पार्टी सदस्यहरुको संगठित भई पार्टी काम गर्ने, पार्टीवाट जारी गरिएका निर्देशन, निर्णय र दस्तावेजहरु प्राप्त गर्ने, तोकिएको शुल्क एवं लेवी नियमित रुपमा बुझाउने जस्ता अधिकार र कर्तब्यहरुबाट समेत वञ्चित गरिएको छ। जस्ले गर्दा उनीहरुले पार्टीको निर्देशनमा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि आवस्यक त्याग, वलिदान र आफ्नो दिन र जवानी खर्चिए वापत दशकौं अगाडि आफ्नो प्राण भन्दा प्यारो पार्टीले उच्च मूल्याङ्कन गर्दै बाँकि जीन्दगी देश र जनताको पक्षमा पार्टीको निर्देशन अनुसार लाग्ने सपथका साथ प्रदान गरेको संगठित सदस्यताको अवमूल्यन भएको छ। नेपालको कम्युनिष्ट आन्दोलनलाई यहाँसम्म पुर्याउन अहं भूमिका खेल्ने यी पार्टीका योद्धाहरुको मनोवल न्यून तुल्याएर अलपत्र पारी पार्टीको जनताको तहसम्म पुगेका जराहरु काटिएका छन्।जस्ले गर्दा पार्टीको विरुद्धमा विपक्षीहरुले फैलाएका फतुरहरुको आवस्यक खण्डन नभई आम जनतामा पार्टी प्रति घोर वितृष्णा जागेको छ।
आज, पार्टीका शिर्ष नेताहरुमा विकसित प्रवृति, पार्टीका सदस्यहरुको अलपत्रे अवस्था र वर्तमानमा देखिएका पार्टी हित विपरितका छलकपट र षडयन्त्रका परिदृश्यहरुलाई हेर्दा जेठ ३ गते पारेर गरिएको दुई पार्टीहरुको प्राविधिक एकिकरणले आगामी दिनहरुमा पार्टीलाई साँचो अर्थमा एकिकरण गरी कमरेड मदन भण्डारीका अधुरा काम र सपनाहरु पुरा गर्दै मुलुकलाई समाजवाद सम्म पुगाउला कि विश्व कम्यनिष्ट आन्दोलनले धक्का खाएको बेला घरेलु र विदेशी प्रतिकृयावादीहरुको मुटुमा ढ्याग्रो ठोक्दै नेपालमा विकसित कम्युनिष्ट आन्दोलनलाई विश्राम दिंदै मुलुकलाई रसातलमा धसाउला भन्ने अहं प्रश्न खडा भएको छ।