‘मेल इज डिफाइन एज ह्युमन एण्ड वुमन डिफाइन एज फिमेल, व्हेनएभर सी बिहेब्स एजअ ह्युमन, सी इज सेड टु इनिमेट द मेल ।’ यदि तपाईंले फ्रान्सेली अस्तित्ववादी एवं नारीवादी चिन्तक सिमोन दी बोभ्वाँले लेखेको ‘दी सेकेन्ड सेक्स’ पढ्नुभएको छ भने माथिका हरफ त्यहीँ पढ्न पाउनुहुन्छ । सन् १९४९ मा धेरैको मथिङ्गल हल्लाइदिएको उक्त पुस्तकको यो हरफले अझैपनि हाम्रो समाजमा नारीप्रतिको दृष्टिकोणलाई प्रष्ट चित्रण गरेको छ ।
नारीलाई अझैपनि दोस्रो दर्जामा राखेको यो पितृसत्तात्मक समाजले नारीलाई सामान्य मानिस भएर बाँच्न भने कहिले दिएन । महिलालाई कहिले अस्तित्व प्रमाण नै नगरेका भगवान्को रुप दिएर मुर्ति बनाइयो, कहिले सहवासका समयमा क्षणिक मनोरञ्जन लिने पात्र सोचियो । त्यसपश्चात् दुर्गा, सरस्वती जस्ता अनेकौं रुप दिएर उनलाई परिबन्धमा पारियो । केवल मान्छे हुन दिइएन ।
उसो त आज हिन्दुहरुको महान् पर्व बडादशैंको नवौं दिन । जताततै दशैंको रौनक चलिरहेको बेला समाजले दोस्रो दर्जा दिएको मलाई यो पर्व मनाउनका लागि खासै प्रभाव पार्ने कुनै कारण छैन । उल्टै यो पर्वले नारीको अस्तित्वलाई उल्कै गिज्याए जस्तो लाग्छ ।
दशैंको अवसरमा नौं देवीको पुजा केवल नारी एक मान्छे हुन् भन्ने अस्तित्वलाई लत्याउन गरेको भान हुन्छ । समाजले छुटाएको छोरी र छोराको वर्गमा छोरीलाई घरकी लक्ष्मी मानिन्छ यद्यपि छोरा भने नितान्त ‘पुरुष’ वा ‘मान्छे’ हुन्छ ।
जन्मदै काखमा लिनासाथ ‘ए घरमा लक्ष्मीको आगमन भएछ, देवी आइँछिन् घरमा’ जस्ता शब्दले सोझै मान्छे हुनुको अधिकारबाट वन्चित गराइन्छ । कतिलाई लाग्न सक्छ यो नारीलाई दिएको सम्मान हो ।
अफसोस यो धर्म र समाजको नाममा लगाइएको एउटा परिबन्ध हो । र, हो, परिबन्धमा पार्दै स्वतन्त्रता हनन् गर्ने केवल एक फन्डा । अहिले समानताको संघर्ष चलिरहेकाबेला महिलालाई देवीको रुप दिएर उच्च आदर दिन खोजे जस्तो गर्नु उनी अझै दोस्रो दर्जाकी हुन् भनि प्रष्ट औंल्याइएको हो ।
समाजका अनुसार पुरुष एक मान्छे हुन् । त्यसैले जन्मनासाथ काखमा लिँदा उ नितान्त छोरा नै हुन्छ । उनलाई देवताकै नाम दिएर परिबन्धमा पारिँदैन । घरमा यो देवको बास भयो, यो देवताको आगमन भयो भनिदैन । त्यसैले त धर्म र संस्कार महिलालाई सम्मान गरे जस्तो गर्ने परम्परा केवल एक ढोंग बाहेक अरु केही हैन । जसको संरक्षण पुरुषले नै गरेका हुन्छन् । यी विचारलाई पनि कतिले धर्म माथिको प्रहार भनि टिप्पणी गर्नुहोला । तर यो आस्थामाथिको प्रहार भन्दा नारीको अस्तित्वलाई पन्छाउन खोजेको फन्डामात्र हो ।
धर्मको अफिममा मस्त रहेर सही र गलतको विश्लेषण गर्ने क्षमता गुमाएका कथित सन्तहरु नै धर्म संरक्षणको नाम लिदै उफ्रिने पात्र हुन् । सामान्यतयः तपाइले कोही महिलाहरु धर्म माथि प्रहार भयो भन्दै कुर्लिएको पाउनु हुन्न ।
महिलालाई दमन गरेर राख्ने मनशायमा पुरुषले यूगौं अघि लेखेका ग्रन्थलाई अहिले तिनै पुरुषले निरन्तरता दिएका छन् । जहाँ धर्मको आडम्बरी खोलभित्र शोषण र दमनलाई प्रश्रय दिइएको छ । महिलालाई अनेकनरुपले चित्रण गरेर देवीको रुप दिएर केवल आफ्नो औंलामा नचाउने मनशाय हो । हामीले देवीको अस्तित्वको प्रमाण भेटेका छैनौ । तिनलाई धर्मभिरुको आज्ञा र चाहनामा मुर्तिकारले दिएको फगत एक रुप हो ।
यदि यही नै सही हो र लोकको रित नै यही हो भने म विद्रोह गर्न रुचाउँछु । ‘मान्छे’हरुको भीडमा म पनि मान्छे हुन चाहन्छु । म र म जस्ता धेरै केटी धर्म र पर्वमामात्र देवी हुने र बनाइने परिपाटीको गलत संस्कारलाई चिर्न चाहन्छु । म अर्थात् हामीलाई केवल ‘मान्छे’ बन्नुछ । जेण्डरको आधारमा तौलिने तराजुको काँटालाई भाँचेर न्यायको पल्ला भारी बनाउने यो सोंच दुष्प्रयासमात्र हुन पनि सक्छ । तर म विश्वस्त छु, दुष्प्रयास पनि एक प्रयास हो । र, यो दशैंको नवौं दिनमा म भन्न चाहन्छु ‘आइ डिफाइन माइसेल्फ एज ह्युमन ।’