लकडाउनका दौरान कास्कीमा अपराधका मुद्धा बढे

सुशन घिमिरे/कास्की

गत चैत ११ गतेदेखि देश लकडाउनमा रह्यो । अवस्था अहिलेपनि सामान्य बनिसकेको छैन । सरकारले अत्यावश्यकबाहेकका सेवालाई अझै पनि पूर्णरुपमा सञ्चालनमा लगाएको रोक कायम छ । मानिसहरु घरमै थुनिए । बाहिर सामान्यरुपमा दैनिकी चल्न सकेन र पनि अपराधको श्रृंखला अझ बढेर गयो । तलुनात्मकरुपमा अन्य समय भन्दा केही बढी अपराधिक घटना बढे । र, लकडाउनकै समयमा कास्कीमा बढेका अपराधिक घटनाले जिल्ला अदालत कास्कीलाई कामको फुर्सद मिलेन ।

जिल्ला अदालत कास्कीमा तहसिलदार तथा कार्यवाहक श्रेस्तेदार हरिशचन्द्र गौतमले लकडाउनका समयमा जिल्ला अदालतमा बलात्कार, लागुऔषध जस्ता मुद्धाहरु अन्य समय भन्दा बढी दर्ता भएको जानकारी दिए ।

अदालतको रेकर्डअनुसार चैत ११ देखि भदौ १३ गतेसम्म बलात्कार, जबर्जस्ती करणी, बाल यौन दुरुपयोगका ३५ वटा घटना दर्ता भएका छन् । अन्य समयको तुलनामा यो संख्या बढी रहेको गौतम बताउँछन् ।

पाँच वर्षीय बालिकालाई करणी गरेको अभियोगमा पोखरा २७ का १९ वर्षीय युवा पक्राउ परे । उनी करणी सम्बन्धी कसुर अप्राकृतिक मैथुन गरेको अभियोगमा मुद्धा दर्ता भयो । घटना बैशाख १५ गतेको हो । बैशाख १६ गते नै जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठायो ।

चार वर्षीय बालिकालाई यौन दुव्र्यबहार गरेको भन्दै प्रहरीले जितपुर बारा स्थानीय ठेगाना भई पोखरा बस्ने २५ वर्षीय सदाम मियाँलाई पक्राउ ग¥यो । जिल्ला अदालत कास्कीमा बाल यौन दुरुपयोग मुद्धामा पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीले असार २ गते ५० हजार धरौटीमा रिहा गर्न आदेश दियो । उनी धरौटी बुझाएर रिहा भइसकेका छन् । यि केही प्रतिनिधि घटनामात्रै हुन् ।

जिल्ला प्रहरी कार्यलयको रेकर्डमा पनि अपराधका घटना अन्य समय भन्दा बढी दर्ता भएको छ ।

पछिल्ला समयमा कास्कीमा लागु औषधका घटनामा पनि उत्तिकै बृद्धि भएको छ । जिल्ला अदालत कास्कीमा लकडाउन अवधिमा ६१ वटा लागु औषधका मुद्धा दर्ता भएका छन् ।

रोकिएन न्याय प्रक्रिया

लकडाउनको सुरुवात चरणदेखिनै नियमितरुपमा कार्यलयमा रहेका श्रेस्तेदार गौतम आफुहरु सबै सुरक्षा मापदण्ड अपनाएर न्याय प्रक्रियाका कामलाई अगाडी बढाइरहेको बताउँछन् ।
पहिलो चरणको लकडाउनमा हरेक फाँटमा २ जना कर्मचारी मात्रै आउने गरी आलोपालो प्रणाली अपनाइएको थियो । अदालतले अहिले फौजदारी मुद्धाहरुलाई प्रथामिकतामा राखेको छ । भने देवानी मुद्धामा पेशी सार्ने काम भइरहेको छ ।

गौतमका अनुसार सामान्य अवस्थामा दैनिक ३० वटा भन्दा बढी मुद्धा हेर्ने गरिन्थ्यो । ‘अहिलको अवस्था नै यस्तो भयो, फौजदारी र देवानी दुबै मुद्धा हेर्न नसकिने अवस्था रहेकै कारण फौजदारी मुद्धाहरुलाई मात्रै प्राथमिकतामा राखेका छौं’, गौतमले जनाए ।

अदालतमा अभियोग पत्र दर्ता गर्ने, पक्राउ पुर्जी अनुमति, बयान लिने, थुनछेक बहसजस्ता काम रोकिएको छैन ।

कोरोना कहरका कारण कार्यालय प्रवेशदेखि इजलाससम्म सावधानी अपनाइएको छ । सबै फाँटमा सेनिटाइजरको व्यबस्था गरिएको छ । भने डोरी टाँगेर निश्चित दुरी कायम गराइएको छ ।
अदालतका ६ वटा फाँटमा हाल ७४ जना कर्मचारी कार्यरत छन् ।

कमेन्टहरु
Loading...