पहिलो चरणको उम्मेदवारी दर्ता सकियो, ८ गते चुनाव चिह्न प्रदान गरिने

काठमाडौं ,५ कात्तिक/आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार उत्साह पूर्वक उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार शान्तिपूर्ण रुपमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् । प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले आइतबार अपरान्ह पत्रकार सम्मेलन गरी प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनको काम उत्साहजनक रुपमा सम्पन्न भएको जानकारी दिए ।

उनले उम्मेदवार मनोनयनको काम तोकिएकै मितिमा शान्तिपूर्ण र उत्साहजनक ढंगले सम्पन्न गरेकोमा सम्पूर्ण राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु प्रति आभार व्यक्त पनि गरेका छन् ।आइतबार मनोनयन दर्ता गरेका उम्मेदवारहरुलाई आगामी कात्तिक ८ गते निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले स्विकृत गरेको कार्यक्रम अनुसार उम्मेदवार विरुद्ध उजुरी दिने, उजुरी जाँचबुझ तथा छानविन गर्ने, उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न गरी उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने यादवले जानकारी दिए ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुकूलको व्यवहार गर्न/गराउन पनि सरकार, राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुलाई आहृवान गरेको छ । आगामी मंसिर १० गते पहिलो चरणमा प्रदेश सभा र प्रतिनिधि निर्वाचन ३२ वटा जिल्लामा हुँदैछ ।निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ ३७ र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा पहिलो चरणको निर्वाचन हुँदैछ ।

पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुंगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वीरुकुम, पश्चिम रुकुम, रोल्पा, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा निर्वाचन हुनेछ । प्रदेश सभा र प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचन भने आगामी मंसिर २१ गते हुनेछ ।

कमेन्टहरु
Loading...