पोखरा, ४ असोज /साहित्यकार मदन भण्डारीको पहिलो उपन्यास ‘छातीका घाउ’ बजारमा आएको छ । उपन्यासको संस्कृतिकर्मी तथा कवि तीर्थ श्रेष्ठले मङ्गलबार पोखरामा साहित्य शृङ्खलाले आयोजना गरेको कार्यव्रmममा लोकार्पण गर्नुभयो ।
शृङ्खलाका संयोजक यादवराज उपाध्यायको अध्यक्षतामा भएको कार्यव्रmममा कवि श्रेष्ठले सिद्धान्तको घेरामा मात्र बाँचेर जीवनलाई न्याय गर्न नसकिने बताउनुभयो । ‘जीवनका उतारचढावका यथार्थलाई कुनै एउटा वाद वा सिद्धान्तले सम्बोधन गर्न सक्दैन’ उहाँले भन्नुभयो, ‘यस्तो बन्धन तोड्न लेखकहरु नै लाग्नुपर्छ ।’ मदन भण्डारी माक्र्सवादी सिद्धान्तमा विश्वास राख्ने व्यक्ति भए पनि सैद्धान्तिक फराकिलोपनमा विश्वास राख्ने व्यक्तिका रुपमा कृतिले प्रमाणित गरेको श्रेष्ठको भनाइ थियो ।
उपन्यासकार भण्डारीले समाज र साथीहरुबाट सिकेका कुरालाई नै आफूले लेखनमा उतारेको बताउनुभयो । उपन्यासमा सकेसम्म यथार्थ उतार्ने र हरेक बन्धनबाट मुक्त भएर लेख्ने प्रयास गरेको भन्दै भण्डारीले कृति पढेर दिइने सुझावलाई आफूले सधैँ मनन गर्ने बताउनुभयो । प्रगतिशील लेखकका रुपमा परिचित भण्डारीका कविता र मन क्षेत्रीको गजल समेटेर ‘जनयुद्ध जारी छ’ नामक संयुक्त कृति यसअघि प्रकाशन भएको थियो ।
उपन्यासको समीक्षा गर्दै नेपाली लेखक सङ्घ, कास्कीका पूर्व अध्यक्ष डा. लक्ष्मीशरण अधिकारीले मदन भण्डारीको व्यवहार र लेखनको तादात्म्य रहेको बताउनुभयो । उहाँले भण्डारीको उपन्यास फरक शैलीसहित आएको बताउँदै देशको घाउ चिन्न पनि कृति पढ्नै पर्ने जिकिर गर्नुभयो । आफ्नो राजनीतिक मान्यतालाई जबर्जस्ती लाद्ने प्रवृत्तिबाट भण्डारी बचेको भन्दै उपन्यासलाई पठनीय बनाउन हरेक प्रयत्न कृतिमा गरिएको अधिकारीले बताउनुभयो ।
अर्का समीक्षक सूर्य खड्का ‘बिखर्ची’ले भण्डारीको इमानदारी उपन्यासमा झल्किने बताउनुभयो । बिखर्चीले मदन भण्डारीको उपन्यासले नेपाली साहित्यमा विशेष महत्त्व राख्ने जिकिर गर्नुभयो । कार्यव्रmममा प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य परशुराम कोइराला, सांस्कृतिक रुपान्तरणका अभियन्ता हिमलाल पराजुली, प्रा.डा. भवानीप्रसाद पाण्डे, कवि तथा गायिका हरिदेवी कोइरालालगायतले शुभकामना दिनुभएको थियो ।
साहित्यकार रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यव्रmममा सङ्गम सांस्कृतिक मञ्चका कलाकारहरुले विशेष साङ्गीतिक प्रस्तुति राखेका थिए । साहित्य शृङ्खला पोखराले प्रकाशन गरेको २०० पृष्ठको कृतिको मूल्य २५०।– रुपैयाँ राखिएको छ ।