पोखरा, १५ असार/वरिष्ठ लोक स्रष्टा तथा साधक कल्याण शेरचनको ७१ औं जन्मजयन्तीको अवसरमा नेपालमा पहिलो पटक साउन १२ गते काठमाडौंमा राष्ट्रव्यापी खुल्ला मादल बादन प्रतियोगिता हुने भएको छ ।
काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा हुने प्रतियोगिताको साँस्कृतिक संस्थान र कल्याण शेरचन स्मृति प्रतिष्ठानले संयुक्त आयोजना गर्ने निर्णय भएको कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पुर्णबहादुर ह्योल्मोले जानकारी दिनुभयो ।
वरिष्ठ लोक स्रष्टा तथा साधक स्वर्गीय शेरचनको योगदानको अमरत्वका साथै लोकसँस्कृति संरक्षणमा योगदान पुर्याउन जन्मजयन्तीको अवसरमा आयोजित राष्ट्रव्यापी खुल्ला मादल बादन प्रतियोगिताको संयोजकको जिम्मेवारी साँस्कृतिक संस्थानका संगात प्रवन्धक खड्ग बुढालाई दिइएको छ ।
साँस्कृतिक प्रतिष्ठान र कल्याण शेरचन स्मृति प्रतिष्ठानको काठमाडौंमा सम्पन्न बैठकले प्रतियोगितामा प्रथमलाई ५० हजार, दोश्रोलाई २५ हजार, तेश्रोलाई १५ हजार र सान्त्वना हुने दुई जनालाई जनही पाँच पाँच हजार नगद सहित पुरस्कृत गरिने भएको छ ।
यसरी नै उक्त अवसरमा एक जना बरिष्ठ मादल बादकलाई सम्मान गर्ने निर्णय गरिएको साँस्कृतिक सँस्थानका महाप्रवन्धक राजेश थापाले जानकारी दिनुभयो । प्रतियोगितासँगै स्वर्गीय कल्याण शेरचनका गीतहरुमा नृत्य समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।