पोखरामा पर्वतीय फिल्म फेस्टिभल सुरु, पोखरेलीले बनाएका फिल्मको प्रशंसा

पोखरा, ६ पुष/बुधबारदेखि पोखरामा दोस्रो पर्वतीय फिल्म फेस्टिभल शुरु भएको छ । पोखरा फिल्म सोसाइटीको आयोजनामा शुरु भएको फेस्टिभलमा पहिलो दिन १२ वटा फिल्म स्क्रिनिङ भए । स्क्रिनिङ भएका फिल्म मध्ये ९ वटा फिल्म पोखरा सभागृहको हलमा प्रदर्शन भएको थियो भने बाँकी ३ वटा फिल्म लेकसाइडस्थित वाराहि चोकमा देखाईएको थियो ।

प्रदिप पोखरेलले निर्देशन गरेको फिल्म ‘अ सङ फर बारपाक’बाट फेस्टिभलको स्क्रिनिङ शुरुवात भएको थियो । पहिलो दिन महेश श्रेष्ठको ‘नयाँ झुल’ सुशन प्रजापतिको ‘लाज’, आदित्य खड्काको ‘धर्तीपुत्र’, रघुवर नेपालसँगै शिव कोईराला सँयुक्त रुपमा निर्देशन गरेको ‘मेला’, पुजा गुरुङसँगै विभुषण बस्नेत मिलेर निर्देशन गरेको ‘दद्या’, विष्णु गौतमको निर्देशनमा बनेको ‘ऐना’, मनोज घर्तीमगरको ‘भर्तीको राजनीति’ र केसाङ छेतेनको ‘ट्रेम्ब्लिङ माउन्टेन’ पोखरा सभागृहमा देखाईएको थियो ।

त्यस्तै अमेरिकन फिल्मकर्मी रोबिन अन्डरउडको निर्देशनमा बनेको ‘फोर्जिङ बोन्ड्स’, ईटलीको एएफइएको निर्माणमा बनेको ‘एनिमल पार्क’ र यूकेको निर्देशक जेक मार्टिन ग्रेभको निर्देशनमा तयार भएको ‘अन द रोड अफ रिलिफ’को लेकसाइडको वाराहि चोकमा ओपन स्क्रिनिङ गरिएको थियो । बुधबार स्क्रिनिङ भएकामध्ये नयाँ झुल, ऐना र भर्तीको राजनीति पोखरेली फिल्मकर्मीहरुकै निर्माण तथा निर्देशनमा तयार भएको फिल्महरु हुन् । स्क्रिनिङ पछि यी फिल्मको संक्षिप्त समिक्षा समेत भएको थियो ।

पोखरेली फिल्मकर्मीले बनाएका फिल्म तथा डकुमेन्ट्रीलाई दर्शकले रुचाएका थिए । यी फिल्महरुको बारेमा केहि मिश्रित प्रतिक्रिया समेत आएका थिए । शुरुवाती दिनमा दर्शकको संख्या भने त्यति उल्लेख्य भएन । ‘थोरै भएपनि निकै बौद्धिक दर्शक हामीले पहिलो दिन पायौँ । र, बुधबारको दर्शकको माउथ पब्लिसिटि राम्रो रहने हाम्रो अपेक्षा छ ।’ आयोजक पोखरा फिल्म सोसाइटीका अध्यक्ष घनश्याम लामिछानेले भने । यसो भएको खण्मा बाँकी दुई दिन दर्शक संख्या बढ्ने आयोजकको अनुमान छ ।

फेस्टिभल अन्तरगत विहिबार २० वटा फिल्मको स्क्रिनिङ हुने फेस्टिभलका सँयोजक सरोज सापकोटाले जानकारी दिए । ४ वटा सेसन छुट्टाएर फिल्महरु देखाईने उनले जानकारी दिए । विहान १० बजेदेखि साँझ ७ बजेसम्म स्क्रिनिङ चल्नेछ । साथै विहिबार नै ‘नेपाली फिल्ममा हिमालय सँस्कृति’ विषयक अन्तरक्रिया कार्यक्रम समेत हुने उनले जानकारी दिए । त्यस्तै अन्तिम दिन शुक्रबार २२ वटा फिल्महरु स्क्रिनिङ हुने आयोजकले बताएको छ ।

पोखरा फिल्म सोसाइटीका अनुसार फेस्टिभल अवधीभर जम्माजम्मी ५२ वटा फिल्महरु स्क्रिनिङ हुनेछन् । विभिन्न देशका हिमालय सँस्कृति झल्किने फिल्महरु फेस्टिभलमा समावेश छन् । फेस्टिभलले यस क्षेत्रका फिल्मकर्मीहरुलाई धेरै कुराको ज्ञान दिने विश्वास पोखरा फिल्म सोसाइटीको छ । उसले फिल्मसम्बन्धि ज्ञान राख्न चाहने हरेकलाई पोखरा सभागृहमा भैरहेको फेस्टिभलमा सहभागिता जनाउनका लागि आह्वान समेत गरेको छ ।

पोखरामा पर्वतीय फिल्म फेस्टिभल सुरु, पोखरेलीले बनाएका फिल्मको प्रशंसा
पोखरामा पर्वतीय फिल्म फेस्टिभल सुरु, पोखरेलीले बनाएका फिल्मको प्रशंसा
पोखरामा पर्वतीय फिल्म फेस्टिभल सुरु, पोखरेलीले बनाएका फिल्मको प्रशंसा
पोखरामा पर्वतीय फिल्म फेस्टिभल सुरु, पोखरेलीले बनाएका फिल्मको प्रशंसा
कमेन्टहरु
Loading...