चलचित्र क्षेत्रमा सरकारले राहत कार्यक्रम ल्याउने

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कोरोनाले नेपाली चलचित्र क्षेत्रमा पारेको असरलाई ध्यानमा राखी केही राहत कार्यक्रम ल्याउने योजना बनाएको बताएका छन् । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनद्वारा आज यहाँ आयोजित ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल’को नवौं संस्करणको उद्घाटन समारोहमा मन्त्री ज्ञवालीले विश्वभरि फैलिएको कोरोनाका कारण नेपाली चलचित्र क्षेत्रमा पनि प्रत्यक्ष असर परेकाले सरकारले सहयोग गर्ने आश्वासन दिएका हुन् ।

कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपालले वार्षिकरुपमा अन्तर्राष्ट्रियरुपमा चलचित्र महोत्सव आयोजना गर्नुपर्ने जनाउँदै त्यसका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताए । चलचित्र विकास संघका अध्यक्ष आकाश अधिकारीले सरकारले नेपाली चलचित्र क्षेत्रको विकास गर्न वार्षिकरुपमा कार्यक्रम ल्याउनुपर्ने तथा नेपाली चलचित्र अन्तर्राष्ट्रियकरण गर्न पहल गर्नुपर्ने बताएका छन् ।

कलेजका संस्थापक डा मञ्जु मिश्रले महोत्सवले अफ्रिका र नेपालबीच थप घनिष्ठ सम्बन्ध स्थापना हुने र २ देशलाई नजिकबाट बुझ्न थप सहयोग पुग्ने बताएकी छिन् । ३ दिनसम्म चल्ने महोत्सवमा ९ वटा अफ्रिकीसहित केही नेपाली चलचित्र प्रदर्शन गरिने जनाइएको छ । रासस

कमेन्टहरु
Loading...