कोरोनाका कारण बेलायतमा पोखराका किर्तिमानी खेलाडीको निधन

पोखरा, ४ वैशाख / पोखराले कोरोनाका कारण फेरी अर्को खेलाडीलाई गुमाएको छ । बेलायतमा रहदै आएका लक्ष्मण श्रेष्ठको बुधबार निधन भएको हो । कोरोनाकै कारण उनको निधनले पोखरा र स्याङजाका खेलप्रेमी स्तब्ध भएका छन् । श्रेष्ठ भन्दा अघि नै पोखराले दुई अग्रज फुटबलरलाई गुमाई सकेको छ ।

स्याङजा घर भई पोखरा महानपालिका –६ जरेबर बस्दै आएका श्रेष्ठ नेपालका राष्ट्रिय किर्तिमानी खेलाडी हुन् । उनी सटफुटका किर्तिमानी खेलाडी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीले बताए ।

नाताले उनका भान्जा पर्ने मर्सानीका अनुसार श्रेष्ठको ५८ उमेरमा निधन भएको हो । बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताकै समयमा छनोटको लागि पोखरा ल्याईएको हो । तर श्रेष्ठ पोखरामा आयोजना भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा भने सहभागि भएनन् ।

मर्सानीले नै श्रेष्ठलाई खेलकुद क्षेत्रमा ल्याएका हुन् । स्याङजामा रहेका श्रेष्ठलाई पोखरा बोलाउँदै अञ्चलमा छनोट हुदैं गण्डकी अञ्चलबाट प्रथम बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भएका थिए । मर्सानी बक्सिङ खेल्थे । श्रेष्ठ भने सटफुटका थिए । श्रेष्ठले राष्ट्रिय किर्तिमान राख्दै गण्डकी अञ्चललाई स्वर्ण पदक जिताएका थिए ।

२०३९ सालमा बेलायती सेनामा भर्ती भएपछि उनको खेल जीवन टाढिएको थियो । उनी सटफुटका राष्ट्रिय किर्तिमान खेलाडीको रुपमा राष्ट्रिय खेलकुद परिषदको अभिलेखमा छ । श्रेष्ठका परिवार नै बेलायत बस्दै आएको छ । उनका तीन छोरी र एक छोरा छन् ।

यस अघि दुई जना फुटबलरको कोरोनाकै कारण निधन भएको थियो । पोखरा–१४ छिनेडडाँ निवासी मेखबहादुर गुरुङ(मेखु) र पोखरा–१६ दिप निवासी लक्षिनबहादुर गुरुङको मृत्यु भएको थियो । गुरुङद्वय गण्डकी अञ्चलका अग्रज फुटबलर हुन् । बेलायतमा कोरोनाका कारण मृत्यु हुने नेपालीको सख्या उच्च छ ।

कमेन्टहरु
Loading...