पोखरा—१२ मा एमालेबाट ऋषिराम लामिछाने

पोखरा, १८ वैशाख/नेकपा एमालेबाट पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १२ को अध्यक्षमा ऋषिराम लामिछाने उम्मेदवार बन्ने भएका छन् । पार्टीले उनलाई उक्त वडामा अध्यक्षको उम्मेदवारका लागि १८ वैशाखमा निर्णय गरेको हो ।

लामो समय निजामती सेवामा रहेर अनुभव हासिल गरेका उनी प्रष्ट र बौद्धिक वक्ताका रुपमा परिचित छन् । निजामती सेवामै छँदा पनि पोखराको विकास निर्माण र सार्वजनिक हितमा योगदान पुर्‍याएका लामिछाने अध्ययनमा रुचि राख्छन् ।

‘विगतलाई फर्केर हेर्दा’ शीर्षकको उनको पुस्तकसमेत प्रकाशित छ । शाखा अधिकृत तहबाट निवृत्त लामिछानेले सरकारी सेवामा रहँदा स्वास्थ्य, उद्योग र भूमि प्रशासन क्षेत्रको अनुभव हाँसिल गरेका थिए । अर्थशास्त्र र राजनीति शास्त्रमा स्नातक तथा जनप्रशासनमा स्नातकोत्तर (एमए) गरेका लामिछानेसँग निजामती कर्मचारी संगठन कास्कीको २ पटक अध्यक्ष भएर काम गरेको अनुभव छ ।

बालबालिका, युवा र वृद्धवृद्धालाई लक्ष्य गरेर बगैंचा (पार्क) निर्माण, सार्वजनिक सम्पति र सम्पदाको संरक्षण, हरियालीयुक्त सडक, उज्यालो वडा लगायत योजना लामिछानेले सारेका छन् । घरेलु हिंसामुक्त, बालमैत्री, ‘भ्रष्टाचारमुक्त सुशासन युक्त’ वडा बनाउने पनि उनका योजना छन् ।

लामिछाने एमाले निकट कास्की—काठमाडौं सम्पर्क मञ्चको २ पटक अध्यक्ष र अञ्चलको उपाध्यक्ष रहिसकेका छन् । नेपाल पेसागत महासंघ समन्वय समिति गण्डकीको सचिवसमेत भइसकेका लामिछाने निजामती सेवाबाट निवृत्त भएपछि आफ्नै वडाको विकास निर्माणमा सक्रिय छन् । हाल उनी नेकपा एमाले जिल्ला निर्वाचन कमिटी सदस्य हुन् ।

कमेन्टहरु
Loading...