नेपालमा दैनिक ८ सय ८५ गर्भपतन

पोखरा, २२ चैत /नेपालमा दैनिक ८ सय ८५ जना महिलाले गर्भपतन गर्ने गरेको तथ्याङक सार्वजनीक भएको छ । वातावरण, स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) र अमेरिकाको गुडमाकर इन्स्टिच्यूटले नेपालमा गरेको अनुसन्धानबाट त्यस्तो तथ्य सार्वजनीक भएको हो । ‘नेपालमा अनिच्छुक गर्भ र गर्भपतनको स्थिती’ विषयमा १५ वर्षदेखि ४९ वर्ष भित्रका महिलामा गरेको अध्ययनले यस्तो देखिएको हो ।

मंगलबार पोखरामा सार्वजनीक गर्दै वार्षिक ३ लाख २३ हजार महिलाले गर्भपतन गर्ने गरेका छन् । नेपालमा सन् २००४ देखी करिब ९ लाखले गर्भपतन गराइसकेको अनुसन्धानकर्ता तथा कृपाका सहनिर्देशक डा महेश पुरीले जानकारी दिए । उनले शुरुवाती कालमा अत्यन्त न्यून मात्रले सेवा लिएको र हाल यो संख्या बढेको बताए ।

नेपालमा दैनिक ८ सय ८५ गर्भपतन
नेपालमा दैनिक ८ सय ८५ गर्भपतन

तथ्याङ्क अनुसार गर्भपतन गरेका मध्ये ४२ प्रतिशतले मात्रै सरकारले तोकेको स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गर्ने गरेका छन् । अन्य ५८ प्रतिशतले अवैध रुपमा सञ्चालनमा रहेका क्लिनिकमा गएर गर्भपतन गराउने गरेको अध्ययनमा दाबी गरिएको छ । बैध रुपमा गर्भपतन गराउने मध्ये ३७ प्रतिशतले मात्र सरकारी स्वास्थ्य संस्थामा, ३४ प्रतिशतले एनजिओमार्फत चलेका स्वास्थ्य संस्थामा र बाँकी २९ प्रतिशतले नीजि स्वास्थ्य संस्थामा गर्भपतन गराउने गरेको पुरीले बताए ।

पश्चिमाञ्चलमा भने ४९ प्रतिशतले एनजिओद्वारा सञ्चालित स्वास्थ्य संस्थामा, ३८ प्रतिशतले सरकारी स्वास्थ्य संस्थामा र १३ प्रतिशतले निजी स्वास्थ्य संस्थामा गर्भपतन गराउने गरेको तथ्याङ्कले देखाएमा छ । नेपालमा कुल गर्भ मध्ये ५८ प्रतिशत गर्भ अनिच्छुक गर्भ रहने गरेको पनि प्रतिवेदनमा उल्लेख छ । अनुसन्धान अनुसार नेपालमा मध्यमाञ्चलमा सबैभन्दा धेरै ५९ प्रतिशत र सुदुरपश्चिमाञ्चलमा सबैभन्दा कम ३४ प्रतिशत अनिच्छुक गर्भ रहने गरेको उनले बताए ।

कमेन्टहरु
Loading...