नेपालको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएका कास्कीका डा. राम गिरी जापानमा सम्मानित

पोखरा । नेपालको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएका कास्कीका डा. राम गिरी जापानमा सम्मानित भएका छन् । जापानलाई कर्मभूमि बनाई नेपालको शैक्षिक क्षेत्रमा विगत २६ वर्षदेखि निरन्तर योगदान दिँदै आएका डा. गिरी जापानमा सम्मानित भएका हुन् ।

डा. गिरीलाई,समाजसेवा तथा सामजिक कर्ममा लागेका व्यक्तिहरुलाई प्रशंसा तथा सम्मान गर्ने जापान सरकारद्वारा अनुमति प्राप्त गैरनाफामूलक जापानी संस्था (公益財団法人社会貢献支援財団 –कोएकी जाईदान स्याकाई कोउकेन सिएन जाईदान) सामाजिक योगदान सहयोग फाउन्डेसनले एक समारोहमा सम्मान गरेको हो ।

डा. गिरीले सन १९९७ मा नेपालको शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले ‘मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठान’ स्थापना गरि कास्की जिल्लाका २३ भन्दा बढी विद्यालयका २३ सयभन्दा बढी विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान, पुस्तकालय स्थापना, साईन्स ल्याब स्थापना, प्रोजेक्टर तथा कम्प्यूटर शिक्षा लगायतका विद्यालयको आवश्यकता अनुसार २६ वर्षदेखि लगातार नेपालको शैक्षिक क्षेत्रमा योगदान दिँदै आएका छन् ।

सम्मानले आफुलाई थप हौसला प्रदान भएको र सामाजिक तथा शैक्षिक सेवामा निरन्तर लाग्ने प्रतिवद्धता डा. गिरीले गरे ।

जापानमा प्रविधी तथा विकास सम्बन्धी अध्ययन र अनुसन्धान गरिरहेका डा. गिरी नेपाली तथा जापानको सामाजिक योगदानमा भूमिका खेलिरहेका छन् । साथै कोरोना महामारीका समयमा जापानमा रहेका नेपाली तथा विदेशीहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने कार्यमा उनले भूमिका समेत खेलेका थिए ।

डा. गिरीको जन्मस्थान कास्कीको माछापुच्छ्रे ५ रिभान, हुम्दी हो ।

कमेन्टहरु
Loading...