माओवादी केन्द्रको घरदैलो जारी

पोखरा, २४ बैशाख/पोखरा लेखनाथका वडाहरुमा नेकपा माओवादी केन्द्रले चुनावी कार्यक्रमलाई तिव्रता दिएका छन् । पोखराका सबै वडाहरुमा माओवादी केन्द्रले घरदैलो तथा कोणसभा कार्यक्रम गरिरहेको जनाएका छन् ।

यस क्रममा स्थानिय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा नम्बर १ का उम्मेद्वार बनेका डिल्लीराम अधिकारीसहितको टोलीले आईतबार घरदैलो गरेको छ । सिंहदरबारको अधिकार, गाउँ गाउँमा अधिकार भन्ने नारासहित केआईसिंह टोलदेखी शुरु गरेर पिएन क्याम्पस गेट, ट्याक्सीचोक हुँदै सिमपानीसम्म घरदैलो गरेको चुनाव प्रचारप्रसार समिति वडा नम्बर १ का संयोजक तिलकप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

टोलीले सोमबार सिमपानीचोकबाट घरदैलो शुरु गरेर कसेरी, गैरी गाउँ र शान्तिटोल हुँदै टुँडिखेल चौतारामा आएर कोणसभा गर्ने उहाँले बताउनुभयो । कोणसभामा उपमेयरका उम्मेद्वार गोमा ढकाल पनि उपस्थित हुनुहुने उहाँले जानकारी दिनुभयो । वडा नम्बर १ मा माओवादीबाट वडाध्यक्षमा डिल्लीराम अधिकारी, महिला सदस्यमा शारदा सुवेदी, दलित महिला सदस्यमा स्यानीकान्छी सुनार र खुल्ला सदस्यहरुमा काजीमान लामा र मदन भण्डारी उम्मेद्वार हुनुहुन्छ ।

नेकपा माओवादी केन्द्र वडा नम्बर २ का उम्मेद्वारहरुले पनि आईतबार घरदैलो गरेका छन् । वडाध्यक्षका उम्मेद्वार जीवनविक्रम राणा, महिला सदस्य रिना पुन गर्बुजा, दलित महिला सदस्य अञ्जु विक तथा खुल्ला सदस्य द्वय रुपलाल सुनार र निरजविक्रम रानासहितको उम्मेद्वारहरुको टोलीले मिरुवा, बिन्दबासिनी लगायतका ठाउँमा घरदैलो गर्नुका साथै हरिचोकमा कोणसभासमेत गरेको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य तथा वडा नम्बर २ का ईञ्चार्ज भीमबहादुर विश्वकर्माले जानकारी दिनुभयो । कोणसभामा पोखरा लेखनाथ महानगरपालिकाकी उपमेयरकी उम्मेद्वार गोमा ढकाल, माओवादी केन्द्रीय कार्यालय सदस्य विश्वप्रकाश लामिछानेलगायतले सम्बोधन गर्दै स्थानिय तहको अधिकार सहि सदुपयोगका लागि माओवादी उम्मेद्वारलाई जिताउनै पर्ने बताउनुभएको थियो ।

नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ३ का उम्मेद्वार सनकमान सिके नेतृत्वको टोलीले पनि आईतबार घरदैलो गरेको छ । सिकेसहित महिला सदस्य राधा आचार्य अर्याल, दलित महिला सदस्य मनमाया विक र खुल्ला सदस्य द्वय खुमबहादुर पुन र प्रताप बानियासहितको टोलीले आईतबार ज्ञानमार्ग, कन्यामार्ग, पालिखेचोकलगायतको क्षेत्रमा घरदैलो गरेको चुनाव प्रचारप्रसार समिति वडा नम्बर ३ का संयोजक सुनिता बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार तेर्सापट्टी, कोपिलढुङ्गा, भिसीमार्ग लगायतका क्षेत्रमा घरदैलो गरिनेछ ।

कमेन्टहरु
Loading...