कास्कीको उपनिर्वाचन मिनी जनमत संग्रहः तुलाधर

पोखरा, ८ भदौ/ नेकपाका नेता एवं पूर्व मन्त्री गंगालाल तुलाधरले कास्कीमा हुने उपनिर्वाचन नेकपा नेतृत्वको सरकारको लोकप्रियता मापन गर्ने मिनी जनमत संग्रह हुने टिप्पणी गरेका छन् ।

नेकपा धादिङ–पोखरा जनसम्पर्क मञ्चको तीजे शुभकामना कार्यक्रममा प्रमुख अतिथि तुलाधरले दुई तिहाईको नेकपा सरकारलाई जनताले कसरी हेरिरहेका छन् ? यसलाई जाँच्ने जनमत संग्रहका रुपमा कास्कीको उपनिर्वाचन रहेको उल्लेख गरे ।

‘एमाले र माओवादी एकीकरण भएपछि बनेको दुई तिहाई कम्युनिष्ट सरकारको लोकप्रियता मापन गर्ने अग्नीपरिक्षा अबको कास्कीको उपनिर्वाचन हो ।’ उनले भने– यहाँ हारको कप्ना समेत गर्न सकिदैंन । शर्मनाक हार भयो भने सरकार संकटमा हुनेछ र प्रतिक्रियावादी शक्तिको शिर ठाडो हुनेछ भन्नेमा सबै जानकार छन् ।’

पूर्व शिक्षामन्त्री तुलाधरले कास्कीको क्षेत्र नं. २ रविन्द्र अधिकारीले तीन पटक लगातार जितेको क्षेत्र भएकाले पनि उनको अनुपस्थितिमा समेत जितको विकल्प नभएको बताए । यसका लागि कास्कीमा रहेका धादिङे कार्यकर्ताहरु एक भएर चुनावमा होमिनुपर्नेमा जोड दिए ।

नेता तुलाधरले अहिले विभिन्न निहुँमा सरकार विरोधी क्रियाकलाप चर्किएको आभाष भएपनि प्रतिक्रियावादी तत्वहरु मात्र यसरी जाईलागेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका क्रममा यस्ता क्रियाकलाप स्वभाविक भएको भन्दै उनले सरकारले राम्रो काम गरिरहेको जिकिर गरे । ‘यहाँ सानो निहुँमा पनि सरकारकै खेदो खन्ने, विरोध गर्नेको जमात बढेको छ ।

हामीले ल्याएको संघीयता, गणतन्त्र मास्ने खेल भईरहेको छ । यसमा जनता सचेत हुनुपर्छ । जुनै कुरामा पनि सरकार ठीक भएन, नेकपाले नेतृत्व गर्न सकेन, खत्तम भयो भन्दै हौवा पिटिरहेका छन् ।’ तुलाधरले भने– ‘राम्रो कुरामा सबै चुप बस्ने, नहुने कुरालाई उचाल्ने प्रतिक्रियावादी तत्वहरुको कारण यस्ता हल्ला भएपनि सरकार ठीक छ । मुलुक बनिरहेको छ ।’

नेकपाका विपत् व्यवस्थापन विभाग प्रमुख समेत रहेका तुलाधरले पार्टी एकीकरण अन्तिम चरणमा रहेको जनाउँदै सबै एक ढिक्का भएर अघि बढ्न समेत आग्रह गरे । कास्कीमा रहेका नेकपाका कार्यकर्ताहरु फुटेर हिँड्नुको कुनै औचित्य नरहेको र तुरुन्त यसै मञ्चमा समाहित हुन उनको सुझाव छ । केही व्यक्तिहरु अर्कै मञ्च बनाउँछु भन्दै हिँडिरहेको तर्फ इंगित गर्दै उनले यसरी छिन्नभिन्न भएर व्यक्तिगत लाभ र पदका लागि पार्टीको साथ नरहने स्पष्ट पारे ।

गण्डकी प्रदेश सभा सदस्य एवं नेकपा कास्कीका नेता रामजी बराल जीवनले पार्टी एकीकरण भईसकेकाले पार्टी जस्तै ठूलो मन लिएर कार्यकर्ताहरु एकसाथ अघि बढ्न सुझाव दिए । नेकपा कास्कीका सचिव बखान सिंह तमुले कामको सिलसिलामा जहाँ रहेपनि आफ्नो पार्टीप्रतिको निष्ठा र समर्पण नछाडेको भन्दै पछिल्लो क्रममा सक्रिय गतिविधिका साथ मुलुकका सम्पर्कमञ्च मध्ये धादिङ–पोखरा सम्पर्क मञ्चले पनि आफूलाई स्थापित गरेको बताए ।

नेकपा प्रदेश नं. ३ सदस्य रामबहादुर भण्डारीले एकीकृत पार्टी जनचाहना अनरुप नै अघि बढेको उल्लेख गर्दै सबैको सहयोग रहनुपर्ने बताए । धादिङ निलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीले कामको सिलसिलामा पोखरा आएर पनि आफ्नो पार्टी र जिल्लालाई मजबुत बनाउन धादिङेले खेलेको भूमिकाको प्रशंसा गरे ।

नेकपा धादिङ पोखरा जनसम्पर्क मञ्चका संयोजक वीरबहादुर थापा (अर्जुन) को अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका तर्फबाट रामकृष्ण दुवाडी र बेनी पाठक, महिलाहरुको तर्फबाट सदस्य सरस्वती श्रेष्ठ सरु, पत्रकारहरुका तर्फबाट धादिङ पोखरा पत्रकार समाजका अध्यक्ष रञ्जन अधिकारीले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा सहसंयोजक रेशम सिंखडा (गोपाल) ले स्वागत मन्तव्य, कार्यक्रम संयोजक ईश्वरकुमार श्रेष्ठले धन्यवाद ज्ञापन र सचिव कृष्ण धरेलले सञ्चालन गरेका थिए ।

उक्त अवसरमा नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा धादिङ घर भई पोखरामा स्थायी वा अस्थायी बसोबास गर्दै आएका चेलीबेटीबीच भेटघाट तथा दर समेत खुवाइएको थियो ।

कमेन्टहरु
Loading...