जनताले चुनाव चाहेका छन्–आयुक्त

सागर राज तिमिल्सिना
पोखरा, २८ चैत/निर्वाचन आयोगका आयुक्त ईश्वरी प्रसाद पौडेलले जनता चुनावका लागि तयार रहेकाले कुनैपनि हालतमा मिति नसर्ने बताएका छन् । निर्वाचन अधिकृतका लागि पोखरामा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै उनले लामो समयसम्म स्थानीय चुनाव नभएकाले बिलम्ब गर्न नहुने बताए । उनले आयोगले तिब्र तयारी गरिरहेकाले आयोगकै कारणले चुनाव नरोकिने स्पष्ट पारे ।

‘निर्वाचन आयोग दिनरात खटिरहेको छ । हाम्रा कर्मचारी साथीहरुले पनि तोकिएको जिम्मेवारी अनुसार काम गरिरहेका छन्, उनले भने–अव चुनावको मिति सर्दैन । हामी पूर्ण तयारीमा छौं ।’ आयोगले हालसम्म चुनाव केन्द्रित मतदाता शिक्षा स्वयंसेवक र लेखा ब्यवस्थापनका कर्मचारीहरुलाई तालिम दिईसकेको छ भने सोमबारदेखि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई तालिम दिन लागेको हो । उनले नेपाल जस्तो विकासोन्मुख देशका लागि चुनाव महंगो र चुनौतीपूर्ण हुने भएकाले स्वतन्त्र, निष्पक्ष र पारदर्शीताका लागि आयोग कटिबद्ध रहेको उल्लेख गरे ।

निर्वाचन आयोगका प्रबक्ता सूर्य प्रसाद शर्माले चुनावका लागि आवश्यक सामाग्रीहरु खरिदका काम सकिएकाले केही दिनभित्रै जिल्ला निर्वाचन कार्यालयलाई वितरण गर्ने जानकारी दिए । उनका अनुसार मतपेटिका चीन र नेपालको सीमाना केरुङमा रोकिएको छ । भन्सारको काम सकिएपछि केहीदिन भित्रै नेपाल भित्रिने उनले बताए । शर्माले देशका दुर्गम क्षेत्रमा चुनावका लागि आवश्यक सामाग्री हेलिकोप्टर मार्फत पनि समयमै पु¥याउने प्रतिबद्धता जनाए ।

४ नम्बर प्रदेशका कास्की, गोरखा, तनहुँ, लमजुङ, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी गरी ८ जिल्लाका मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई सोमबार र मंगलबार निर्वाचन ब्यवस्थापन तथा सञ्चालन विषयक क्षेत्रीय प्रशिक्षण दिईने क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए । उनका अनुसार बाँकी रहेका जिल्ला निर्वाचन अधिकृतलाई बुधबार र विहीबार तालिम दिईने छ ।

कमेन्टहरु
Loading...