मादी गाउँपालिका प्रमुखमा युवा नेता ढकाल वडाबाट सिफारिस

पोखरा, ८ बैशाख /आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा कास्की मादी गाउँपालिका प्रमुखको उम्मेदवारका लागि नेपाली कांग्रेस कालिकाका सभापति एवं विद्यार्थी नेता भानु ढकाल सर्वसम्मत सिफारिस भएका छन् । उनी मादी गाउँपालिकाको वडा नं. ५ बाट सिफारिस भएका हुन् ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य समेत रहेका ढकाल नेविसंघ कास्कीका पूर्व उपाध्यक्ष र पूर्व अध्यक्ष समेत हुन् । उनी २०५६ देखि विद्यार्थी राजनीति तथा कांग्रेसको राजनीतिमा सक्रिय छन् भने विद्यार्थी राजनीति र कांग्रेस कास्कीमा लोकप्रिय युवा नेताको रोजाइमा पर्दछन् । २०५६ मा जनज्योती उच्च माविको नेविसंघ सभापति भएर राजनीतिक यात्रा शुरु गरेका ढकालले २०५८ मा नेविसंघ कालिकाको अध्यक्ष, २०६० मा जनप्रिय बहुमुखी क्याम्पस इकाइका सचिव, २०६१ मा पृथ्वीनारायण क्याम्पस इकाइको सदस्य, सह–सचिव, सचिव हुँदै २ पटक उपाध्यक्ष भएर काम गरेका थिए ।

ढकाल नेविसंघको केही अघि सम्पन्न ११औं महाधिवेशनबाट लोकप्रिय मतका साथ प्रदेश नं. ४ बाट केन्द्रीय सदस्य पदमा विजयी भएका थिए । यसैगरी केही अघि सम्पन्न स्ववियु निर्वाचनमा कास्कीका केही क्याम्पसमा नेविसंघलाई जिताउन ढकालको महत्वपूर्ण भूमिका रहेको बताइन्छ । नेता ढकाल विभिन्न सामाजिक संघ–संस्थाको प्रमुख समेत भएर रचनात्मक काम गरेका छन् । उनी एभरग्रीन युवा क्लवको अध्यक्ष, कसेरी–भैंसे–थुमाकोडाँडाँ ग्रामीण सडक निर्माण समितिको २ पटक अध्यक्ष बनेर काम सम्पन्न गरेका थिए ।

यसैगरी ढकाल शिशुवा–आरुपाटा–कालिका–चितेपानी–भैंसे बाटो निर्माण समितिको संस्थापक अध्यक्ष समेत हुन् भने वृहत मादी करिडोर बाटो निर्माण समितिको अध्यक्ष, जनज्योती माविको व्यवस्थापन समिति सदस्यका साथै मादी गाउँपालिकाको विकास निर्माणमा विशेष ध्यान दिंदै आएको बताइन्छ ।

उनका पिता चन्द्रमणि ढकाल र दाजु स्व.कमलमणि ढकालले समेत लामो समय कांग्रेस तथा विद्यार्थी राजनीति गरेका थिए । उनका दाजु कमलमणि ढकाल २०६२ मा सडक दुर्घटनामा परि निधन भएको थियो । उक्त समयमा स्व.ढकाल नेविसंघ पृथ्वीनारायण क्याम्पसको सभापति थिए । युवा नेता भानु ढकाल विद्यार्थी राजनीति र आन्दोलनका क्रममा देशद्रोहीको मुद्धा खेप्दै जेल जीवन समेत भोगेका छन् ।

ढकालले आफू मादी गाउँपालिकाको प्रमुख बनेमा गर्ने कार्ययोजना समेत अघि सारेर कास्की कांग्रेसका नेता तथा कार्यकर्ताहरुसंग भेटघाट र छलफललाई तीव्र पारेका छन् । पार्टीका केन्द्रीय नेताहरुसंग पनि राम्रो र सुमधुर सम्बन्ध रहेको भन्दै नेता ढकालले आफू मादी गाउँपालिकामा कांग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवार बन्ने दावी गरेका छन् । आफू उम्मेदवार बनेमा जहज रुपमा जित्ने भन्दै उनले अन्य पार्टीका नेता कार्यकर्ताको रोजाइमा पनि आफू परेको स्पष्ट पारे ।
उनले मादी गाउँपालिकाको प्रमुखमा निर्वाचित भएपछि सडक, शिक्षा, स्वास्थ्य, माहिला तथा युवा रोजगार, कृषि तथा सिंचाइ र पर्यटन विकासमा विशेष योगदान दिने बताएका छन् ।

मादी गाउँपालिकालाई सबै तवरबाट कास्कीकै उत्कृष्ट बनाउने दावी गर्दै ढकालले शहर केन्द्रित नागरिकलाई गाउँ केन्द्रित गराउन र सरकारी विद्यालयहरुमा अंग्रेजी माध्यमको पढाइ संचालन गर्न विशेष अभियान संचालन गर्ने बताए । मादीमा हाइड्रो निर्माणमा विशेष ध्यान दिइ स्थानीयलाई रोजगार दिने, पर्यटनमार्फत मादी गाउँपालिकालाई विश्वभर चिनाउन पहल गर्ने, मादी नदी किनारामा रहेको बाँझो खेतीयोग्य जमिनमा सिंचाइ व्यवस्था गरि कृषिको प्रवद्र्धन गर्ने , मादीमा लोडसेडिङ मुक्त गराउने लगायतका कार्ययोजना अघि सारेर ढकाल चुनावी मैदानमा उत्रिएका छन् ।

कमेन्टहरु
Loading...