पर्यटक आकर्षण गर्ने चितवनमा ‘अम्ब्रेला स्ट्रिट’ 

चितवन, ६ असोज / भरतपुर महानगरपालिका २२ पटिहानीमा पर्यटकलाई आकर्षण गर्न ‘अम्ब्रेला स्ट्रिट विथ सनसेट भ्यू’ निमार्ण भइरहेको छ । भ्रमण वर्ष २०२० को असवर पारेर सञ्चालनमा ल्याउन तयारी छ ।

चितवन राष्ट्रिय निकुञ्ज भएर बगेको राप्ती नदीको किनारमा रहेको रमणीय स्थलमा वन, वन्यजन्तु र सूर्यास्तको अवलोकनसँगै थारु समुदायको संस्कृतिसँग रमाउनका लागि अम्ब्रेला स्ट्रिट निर्माण गरिएको हो ।

सो स्थानमा छातामुनि बसेर विभिन्न स्थानीय परिकारमा पर्यटक रमाउन पाउने छन् । मुख्य एउटा र सहायक दुई वटा पानीका फोहोरा (फाउन्टेन) जडान गर्न बाँकी रहेको छ । राप्तीतर्फ ३५ मिटर लम्बाइ र १८ मिटर चौडाइका तलमाथि गरी दुई वटा खण्ड रहेका छन् । त्यसको भूँइमा पोख्रेली ढुङ्गा छापिएको छ ।

सोही ठाउँमा राखिने कुर्चीमा बसेर पर्यटकले निकुञ्जको दृश्यावलोकनमा रमाउँदै एकसिङ्गे गैँडासहितका दुलर्भ वन्यजन्तु हेर्न सक्नेछन् । यससँगै बाटोसँग जोडिएको ९० मिटर लामो र १२ मिटर चौडाइ रहेको ठाउँमा कङ्क्रिट टायल बिछ्याइएको छ । सो ठाउँमा ३४० वटा छाता र त्यसमुनि कुर्ची टेबुल रहनेछन् । त्यसमाथि फाइबरको छाना रहनेछ ।

९० मिटर लामो भागमा चार स्थानमा टापु बनाइएको छ भने बीच भागबाट १६ वटा फलामका बिजुलीका पोल गाडिएको छ । त्यस माथिको खुला तारको सट्टामा प्लाष्टिक बेरिएको तार राखिएको छ । प्रवेशद्वारमा चौकीदार कक्ष, टिकट कक्ष, शौचालय निर्माण गरिएको छ ।

सोही स्थानमा १० वटा फ्रेममा थारुका संस्कृति झल्कने वस्तु राखिएका छन् । काम सम्पन्न गर्न चार करोड ५० लाख खर्च हुने अनुमान छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक करोड रुपैयाँ निकासा गरिसकेको छ । थप रकमको आश्वासनसमेत रहेको भन्दै उनले अपुग रकम महानगरपालिका र वडा कार्यालयले जुटाएका छन् ।

कमेन्टहरु
Loading...