भारतको भ्रमणमा रहेका प्रधानमन्त्री देउवा भेटघाटमा ब्यस्त​, नेपाल र भारतबीच ८ ओटा विषयका समझदारी पत्रमा हस्ताक्षर

नयाँ दिल्ली, ८ भदौ /भारतको पाँचदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा बिहिबार​ दुई मुलुकका प्रधानमन्त्री बीच एक्ला–एक्लै भेटवार्ता भएको हो ।भेटवार्तामा दुई मुलुकको आपसी हित र सहयोग आदानप्रदान लगायतका विषयमा छलफल भएको बताइएको छ ।

यस्तै, प्रधानमन्त्री देउवाले बिहिबार​ साँझ भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग राष्ट्रपति निवासमा शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री देउवाको भारतीय राष्ट्रपति कोविन्दसँग भएको भेटका क्रममा उनीहरुबीच नेपाल–भारत द्विपक्षीय हितका विभिन्न विषयमा विचार–विमर्श भएको थियो ।

यसैगरी, बिहिबारै साँझ प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति वेंकैया नायडुसँग पनि शिष्टाचार भेट गरेका छन् । उनीहरुबीच हैदरावाद भवनमा शिष्टाचार भेट भएको हो । यसअघि बिहिबारै प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेकी थिईन् । सो अवसरमा नेपाल र भारतको बीचमा विगतमा भएका सन्धि सम्झौताहरु कार्यान्वयनको तहमा ल्याउने विषयमा छलफल भएको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले जानकारी दिए ।

यसैबिच​, पाँच दिने भ्रमणका क्रममा बुधबार​ नयाँ दिल्ली पुगेका प्रधानमन्त्री देउवालाई बिहिबार बिहान ‘गार्ड अफ अनर प्रदान गरिएको छ ।राष्ट्रपति भवनमा आयोजित समारोहमा भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा देउवालाई राजकीय सम्मान गरिएको हो ।

नेपाल भारतबीच ओटा समझदारीपत्रमा हस्ताक्षर

नेपाल र भारतबीच ८ ओटा विषयका समझदारी पत्रमा हस्ताक्षर भएको छ ।नेपाल र भारतका प्रधानमन्त्री शेरबहादुर देउवा र नरेन्द्र मोदीको उपस्थितिमा बिहिबार​ समझदारीपत्रमा हस्ताक्षर र आदान–प्रदान गरिएको हो ।त्यसअघि, हैदरावाद हाउसमा देउवा र मोदीबीच झन्डै ३० मिनेट एक्ला–एक्लै कुराकानी भएको    थियो ।लगत्तै देउवा र मोदीको उपस्थितिमा द्विपक्षीय वार्ता भएको थियो । त्यसक्रममा सम्झौता गरिएको हो ।पुनःनिर्माण सम्बन्धी चार ओटा विषयमा समझदारी गरिएको छ ।

जसमा भूकम्प पछिको पुनःनिर्माण लागि भारतले घोषणा गरेको एक अर्ब रुपैयाँको प्रयोगबारे उल्लेख छ ।अर्कोमा स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदा पुनःनिर्माण सम्बन्धी रहेको छ ।चार समझदारी २५० बिलियन अर्थात् २ खर्ब २० अर्ब रुपैयाँको बराबरको रहेको छ ।नेपाल र भारतबीच मेची पुल पुनःनिर्माण, लागुऔषध नियन्त्रण, नापतौल र चार्टर एकान्टेन सम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ ।

यसैगरी, सोहीक्रममा नेपालमा आगामी हिउँदको समयमा हुने लोडसेडिङ अन्त्य गर्न भारतले दिने भनिएको १८० मेगावाट विद्युत् नेपाल ल्याउन दुई देशबीच अन्तरदेशीय प्रसारण लाइनको दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गरे । प्रधानमन्त्रीद्वय देउवा र मोदीले रिमोट मार्फत् हैदरावाद हाउसबाट कटैया–कुशवा र रक्सौल–परवानीपुर प्रसारणलाइनको उद्घाटन गरेका हुन् । ती दुई प्रसारणलाइन केही महिनापहिले निर्माण सम्पन्न भएर परीक्षणसमेत भइसकेको छ ।

नेपाललाई भारतले जुनसुकै अवस्थामा पनि साथ दिन्छ : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा स्थानीय तहको निर्वाचन दुई चरणमा सम्पन्न भएकोमा बधाइ दिएका छन् । निर्वाचनले प्रजातन्त्र र स्थायित्वलाई सुदृढ गर्ने आशा पनि उनले व्यक्त गरेका छन् ।  आज भारतको राजधानी नयाँदिल्लीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता सकिए लगत्तै गरिएको संयुक्त पत्रकार सम्मेलनमा मोदीले सो प्रतिक्रिया दिएका  हुन् ।

भारतले नेपालको आर्थिक समृद्धि र विकास चाहेको बताउँदै उनले सफलताका साथ संविधान लागू गर्न शुभकामना दिए ।दुई देशको सम्बन्धलाई नयाँ रुपले अगाडि बढाउन प्रधानमन्त्री देउवासँग विशेष छलफल भएको भन्दै मोदीले हिमालय जत्तिकै पुरानो मित्र नेपाललाई भारतले जुनसुकै अवस्थामा पनि साथ दिने वचन दिएका छन् ।

मोदीपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफूले संविधान संशोधन मार्फत् संविधानलाई सर्वस्वीकार्य बनाउन खोजेपनि संसदमा दुई तिहाइ बहुमत नपुग्दा संशोधन हुन नसकेको उल्लेख गरे । उनले भविष्यमा सबैलाई स्वीकार्य हुनेगरी संविधान संशोधन हुनेमा आशावादी रहेको पनि उल्लेख गरेका छन् ।

देउवाले संविधान संशोधन नभएपनि असन्तुष्ट राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सहितका दल निर्वाचनमा जाने विश्वास पनि व्यक्त गरे ।प्रधानमन्त्री देउवाले कटैया–कुशवाहा र रक्सौल–परवानीपुर विद्युत प्रसारणलाइन विस्तार गरेकामा मोदी सरकारलाई धन्यवाद दिएका छन् ।

कमेन्टहरु
Loading...