कास्कीकोट गाविसको सार्वजनिक सुनुवाई

पोखरा, ७ साउन/कास्कीको कास्कीकोट गाँउ विकास समितिमा गाविसले दिने सेवा तथा विकास निर्माणका विषयमा केन्द्रित भएर शनीवार सार्वजनिक सुनुवाई भएको छ । गाविसको आयोजना तथा टिआई नेपालसंग आवद्ध संस्था सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको सहकार्यमा भएको सार्वजनिक सुनुवाईमा नागरिकहरुले गाविसका विभिन्न विषयमा गुनासो राखेका थिए ।

गाँउ विकास समितिका सचिव विष्णुप्रसाद अधिकारीले गाँउ विकास समितिमा संचालित आयोजना, सेवाग्राहीलाई दिएका सेवा तथा भौक्तिक पूर्वाधारका वारेमा नागरिकलाई जानकारी गराउनुभएको थियो । सार्वजनिक सुनुवाईमा सचिव अधिकारीले गाविसमा विगतमा भएका कमीकमजोरी सुधार्ने प्रतिवद्धता राख्नुभएको थियो । सचिव अधिकारीले, सीमित स्रोत र साधनको उपयोग गर्दै गाविसका विकास निर्माण गतिविधि संचालन गरिएको जानकारी दिनुभयो । गाविसमा रहेका प्राकृतिक स्रोत परिचालन गर्न नसक्दा आर्थिक स्रोत वढाउन नसकिएकाले त्यसतर्फ गाविसले पहल थाल्ने सचिव असधकारीले वताउनुभयो ।

कास्कीकोट गाविसका निर्वतमान अध्यक्ष भूवनेश्वर सुवेदीले, गाविसको विकास निर्माण प्रक्रिया चुस्त वनाउन राजनीतिक दलहरुले आफ्नो आचरण सुधार गर्नुपर्ने वताउनुभयो । गाँउ विकास समितिको आर्थिक हिसावकिताव पारदर्शी वनाउनुपर्ने तथा नियम र कानुन वमोजिम चल्न सक्नुपर्ने सुझाव समेत उहाँले गाविसलाई दिनुभएको छ । गाँउ विकास समितिको दीर्घकालिन विकासका लागि तत्काल रणनीतिक कार्यक्रम निर्माण गर्नुपर्ने पनि निर्वतमान अध्यक्ष सुवेदीको भनाई छ ।

सुनास कास्कीका उपाध्यक्ष श्याम कुँवरले स्थानिय निकायको पारदर्शिता र उत्तरदायित्व वढाउनका लागि सुनासले पनि टिआईसंग मिलेर भ्रष्टाचार कम गर्ने काम थालेको जानकारी दिनुभयो । सुनास कास्कीका सचिव रवीन्द्र मैनालीले स्थानिय निकाय सहित सवै सरकारी कार्यालयको पारदर्शिता र जवाफदेहिताका लागि एलाक डिपी कार्यक्रम कास्की जिल्लामा सुरु गरिएको जानकारी दिनुभयो । उहाँले विकास निर्माणका ठेक्कापट्टा तथा अन्य भौक्तिक निर्माणका पूर्वाधारमा अनियमिता हुने कारण नागरिकले खवरदारी गर्नुपर्ने सुझाव दिनुभयो ।
स्थानिय समाजसेवी खेमराज सुवेदीले राजनीतिक दल नै वढि पारदर्शी र जवाफदेही हुनुपर्ने धारणा राख्नुभयो । उहाँले आवश्यकताका आधारमा योजना छनौट गर्दा प्राथमिकता तोकेर वनाईनुपर्ने सुझाव दिनुभएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय राजनीतिक पार्टीका नेता तथा प्रतिनिधीहरुले गाविसमा भएका कमीकमजोरी सुधार गर्ने तथा विनापूर्वाग्रह काम गर्ने प्रतिवद्धता समेत राखेका छन् ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष भीमप्रसाद सुवेदीले राजनीतिक सहमतिका आधारमा विकास निर्माणका कार्यक्रम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले गाविसमा हुने कुनैपनि दुरुपयोग रोक्नका लागि निर्देशिका वमोजिम नै चल्ने वाचा पनि गर्नुभयो ।
नेपाली कांग्रेसका सभापति टेकप्रसाद अधिकारीले विना पूर्वाग्रह गाविसका सेवा तथा विकास निर्माणका काम संचालन गर्न आफ्नो पार्टीले कसैलाई दवाव पनि नदिने वचाउनुभयो । अवदेखि गाविसमा योजना वनाउदा निर्देशिका विपरित जान खोजिए नेपाली कांग्रेसले स्पष्ट विरोध गर्ने र निष्पक्ष नागरिकको पक्षमा काम गर्ने ठोकुवा गर्नुभयो ।
नेकपा एमालेका अध्यक्ष रामचन्द्र त्रिपाठीले गाविसका विकास निर्माणका क्रियाकलाप पारदर्शी वनाउन विगतका कमजोरी नदोह¥याउने प्रतिवद्धता गर्नुभयो । नेकपा–माओवादीका अध्यक्ष शालिकराम सुवेदी, राप्रपाका अध्यक्ष तीर्थराज थापा, राप्रपा नेपालका अध्यक्ष चक्रराज वस्ताकोटीले पनि नागरिकसामु सार्वजनिक प्रतिवद्धता जनाउनुभएको थियो ।
सार्वजनिक सुनुवाईमा सराङ्गकोट कास्कीकोट ढिकुरपोखरी मोटरवाटो निर्माण समितिका अध्यक्ष हुमवीर पुन, स्थानिय समाजसेवीहरु शालिकराम पौडेल, भूमीराज भट्टराई, ईन्द्र भट्टराई, सुनकुमारी भूजेल, भद्री सुवेदी, शशीधर गौतम, चिनवहादुर वस्नेत, नरहरी दाहाल, धर्म गिरी, टिकाराम त्रिपाठी, भीमसेन विक लगायतले गाँउ विकास समितिका विभिन्न विषयमा आफ्नो गुनासो राख्नुभएको थियो ।
हेम्जा गाविसका सचिव विष्णुप्रसाद अधिकारीका अध्यक्षमा भएको कार्यक्रममा सुनासका उपाध्यक्ष श्याम कुँवरले स्वागत र सुनासका कार्यक्रम अधिकृत भानुभक्त पराजुलीले संचालन गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...