पोखरामा औद्योगिक ग्राम स्थापना गर्न कार्यदल गठन

पोखरा, २२ जेठ/साना तथा मझौला उद्योगलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले वडा नं ३३ बागमारा क्षेत्रको तल्लो पुँडीटारमा औद्योगिक ग्राम स्थापना गर्न कार्यदल गठन गरिएको छ । कार्यदलले पेश गरेको प्रतिवेदन अनुसार आगामी पाँचौ नगरसभामाा आवश्यक बजेट विनियोजन गरिने पोखरा महानगरपालिकाले जनाएको छ ।

औद्योगिक ग्राम स्थापना गर्न पोखरा महागनरपालिका वडा नं ३३ ले प्रारम्भिक काम शुरु गरेको छ । ‘प्रारम्भिक अध्ययन गरेका छौं । अध्ययनको क्रममा केही सार्वजनिक जग्गा पनि अधिग्रहण गर्नुपर्ने देखिएको छ ।’

पोखरा महानगरपालिकाका वडा नं ३३ का वडाध्यक्ष एवं औद्योगिक क्षेत्र स्थापनाको लागि गठित कार्यदलका संयोजक शिवप्रसाद आचार्यले भने–‘बन तथा स्कुलका जग्गा पनि छन् । त्यसलाई थप अध्ययन गर्ने तयारीमा छौं ।’ उनका अनुसार केही सार्वजनिक जग्गाहरु भएपनि विभिन्न क्षेत्रले उपयोग गरिरहेका छन्, तिनीहरुसँग समेत छलफल गरिने छ ।

औद्योगिक ग्रामको लागि वडाले १६ सय रोपनी जग्गा हेरिसकेको छ । १६ सय रोपनीमा बन, स्कुल तथा सार्वजनिक एवं व्यक्तिगत जग्गा समेत पर्ने उनको भनाई थियो । ‘बनले चर्चेको जग्गा, स्कुलले उपभोग गरेको जग्गालाई छलफलबाटै टुग्याएर काम अगाडि बढाउने छौं ।’ उनले भने–‘व्यक्तिगत जग्गा अधिग्रहण गर्न मुअब्जाको लागि सिफारिस गर्ने छौ ।’

उनका अनुसार स्कुलको जग्गा केहीमा धान रोप्न समेत किसानलाई दिइएको छ । औंद्योगिक ग्राम स्थापना गर्ने क्षेत्रमा जनजागृत र भुलभुला आधारभूति विद्यालयको जग्गाका समेत रहेको छ । सम्भावित अप्ठ्यारालाई अध्ययन गरेर मात्रै टुग्याउने उनको भनाई थियो । ‘हामी औद्योगिक ग्राम स्थापनार्थ प्रभावित क्षेत्रसँग बैठक बस्ने छौं ।’ संयोजक आचार्यले भने–‘बैठकबाट निस्किएको निष्कर्षकै आधारमा अघि बढ्छौं ।’

उनले औद्योगिक ग्रामको लागि व्यक्तिगत साढे दुई सय रोपनी अधिग्रहण गर्नुपर्ने आवश्यकता औल्याएका छन् । मुअब्जाको लागि प्रतिरोपनी २० लाख रुपैयाँ सिफारिस गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै संयोजक आचार्यले भने–‘स्कुल लगायत अन्य संघसंस्थाले विक्री वितरण गरेको जग्गाहरु सबैलाई समायोजन गर्नुपर्ने छ ।’ उनले औद्योगिक ग्रामको स्थापनासँगै घारी जाने पुल निर्माणको काम अघि बढाइने स्पष्ट पारे । औद्योगिक ग्रामबाट पृथ्वीराजमार्गसँग जोडिने सडक समेत फराकिलो पार्ने योजना रहेको बताए ।

औद्योगिक ग्राम स्थापनाको लागि पोखरा महानगरपालिका नगरपालिकाको ३० औं पूर्ण बैठकले निर्णय गरेको हो । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले आचार्यलाई संयोजक तोक्दै ७ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा पोखराका बरिष्ठ उद्योगपति गणेशबहादुर श्रेष्ठ, मालपोत कार्यालय लेखनाथका प्रमुख वा प्रतिनिधि, नापी कार्यालय लेखनाथका प्रमुख वा प्रतिनिधि, डिभिजन बन कार्यालयका प्रमुख वा प्रतिनिधि, अधिवक्ता हरिप्रसाद सुवेदी तथा औद्योगि क्षेत्र व्यवस्थापन कार्यालय पोखराका प्रमुख भुषनकुमार उपाध्याय सदस्य रहेका छन् ।

कार्यदलले अध्ययन गरेर पेश गरिएको प्रतिवेदन अनुसार महानगरपालिका पाँचौ नगरसभा मार्फत बजेट विनियोजन गरिने महानगरपालिका प्रवक्ता धनबहादुर नेपालीले बताए । ‘औद्योगिक ग्रामको लागि कार्यदलले ल्याएको प्रतिवेदन अनुसार नगरसभाबाट बजेट विनियोजन गरिने छ ।’ उनको भनाई थियो । उनका अनुसार कार्यदलले औद्योगिक ग्रामको लागि आवश्यक जग्गा, त्यसको लागि आवश्यक बजेट लगायतका विषयहरु प्रतिवेदनमा उल्लेख हुने भन्दै उल्लेख गरिए अनुसार बजेटको सुनिश्चिता गरिने छ ।

पोखरा औद्योगिक क्षेत्र स्थापनाको झण्डै चार दशक वित्यो । ५३१ रोपनी क्षेत्रमा २०३१ सालमै औद्योगिक क्षेत्र स्थापना गरिएको हो । बजार क्षेत्रसँगै उद्योग धन्दा स्थापनाले साँघुरिदैं गएको छ । उद्योग कलकारखानाको नाममा व्यक्तिगत आवास समेत रहेकोले पनि उद्योगको लागि जग्गा अभाव हुदैं गएको छ ।

स्थापित उद्योग मध्ये केही बन्द अवस्थामा छन् । बन्द उद्योग विस्थापित नहुदाँ नयाँ उद्योगले ठाँउ पाउन सकेका छैनन् । नयाँ प्रस्ताव गरिएको औद्योगिक ग्राम भने महानगरपालिका र तनहुँको शुक्ला गण्डकी नगरपालिकाको सीमामा पर्छ । शुक्ला गण्डकीका प्रमुख किसानसिंह गुरुङ कार्यदलका सल्लाहकार समेत रहेका छन् ।

कमेन्टहरु
Loading...