मानवअधिकार रक्षकहरुको लागि क्षमता अभिवृद्धि तालिम

पोखरा, ७ असार/अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको आयोजनामा मानवअधिकार रक्षकहरुको लागि क्षमता अभिवृद्धि तालिम विहीबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक पोखराका प्रलेख अधिकृत गणेश भण्डारीले मानवअधिकार रक्षकहरुको अनुभव अदान–प्रदान गरी क्षमता अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।असार ४ गतेदेखि शुरु भएको उक्त तालिममा पश्चिमाञ्चल क्षेत्रका लमजुङ, तनहुँ, स्याङजा, कास्की, पाल्पा, पर्वत र बागलुङ जिल्लाका ३० जनाको सहभागीता रहेको थियो । तालिममा पूनरावेदन अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्यले मानवअधिकारको अवधारणा, राष्ट्रिय मानवअधिकार आयोग पश्चिमाञ्चल क्षेत्रीय निमित्त निर्देशक यज्ञप्रसाद अधिकारीले मानवअधिकार रक्षकहरुको अधिकार, दायित्व सम्बन्धी अन्तर्राष्ट्रिय घोषणापत्र तथा संरक्षण, अधिकारमुखी विकास पद्धति सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संयन्त्रहरुको बारेमा सहजीकरण गरेका थिए ।

त्यसैगरी वरिष्ठ अधिवक्ता एवं पश्चिमाञ्चल मानवअधिकार रक्षक सञ्जालका संयोजक रामप्रसाद घिमिरेले अन्तराष्ट्रिय फौजदारी अदालत, संक्रमणकालीन अवस्था र मानवअधिकार रक्षकको दायित्वका बारेमा र अधिवक्ता सुरेन्द थापामगरले मानवअधिकारको विश्वव्यापी घोषणापत्र सन् १९४८ को बारेमा, इन्सेक पोखराका कार्यक्रम संयोजक गणेश श्रेष्ठले मानवअधिकार सम्बन्धी ९ ठूला महासन्धी र सहजीकरण गरे । त्यसैगरी इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेलले मानवअधिकार रक्षकहरुको वर्तमान अवस्था, दायित्व र चुनौति, इन्सेक पोखराका प्रलेख अधिकृत गणेश भण्डारीले मानवअधिकार अनुगमन र अभिलेखीकरणका बारेमा र सहायक प्रलेख अधिकृत टंक खनालले तथ्य संकलनका बारेमा सहजीकरण गरेका थिए ।
तालिमको समापन समारोहमा बोल्दै वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले देशलाई परिवर्तन गर्न, विधिको शासन स्थापित गराउन र मानवअधिकारको संरक्षण र संबवद्र्धन गर्नको लागि मानवअधिकार रक्षकहरुले गाउँ–गाउँमा अभियान चलाउनु पर्ने बताए । वरिष्ठ अधिवक्ता एवं पश्चिमाञ्चल मानवअधिकार रक्षक सञ्जालका संयोजक रामप्रसाद घिमिरेले मानवअधिकार रक्षकले मानवअधिकारको सम्वद्र्धनमा काम गर्ने क्रममा आउने जोखिमप्रति सजक रहेर जिल्ला जिल्लामा मानवअधिकार रक्षक सञ्जाल गठन गर्नु पर्नेमा जोड दिए ।

कमेन्टहरु
Loading...