भिटोफले गाउँ पर्यटनका अगुवालाई सम्मान गर्ने, पत्रकारिता पुरस्कार स्थापना

पोखरा, ४ फागुन/ गाउँ पर्यटन प्रबर्धनमा सक्रिय ‘गाउँ पर्यटन प्रबर्धन मञ्च नेपाल (भिटोफ)’ पोखरा शाखाले फागुन १५ गते गाउँ पर्यटनमा प्रतिबद्ध तीन जना अगुवालाई सम्मान गर्ने घोषणा गरेको छ ।  भिटोफ पोखराका अध्यक्ष तारानाथ पहारीका अनुसार गाउँ पर्यटनका नायक रुद्रमान गुरुङको प्रथम स्मृतिमा फागुन १५ गते पोखरामा आयोजना गरिने कार्यक्रममा सामुदायिक होमस्टेको विकास र प्रबर्धनमा योगदान पु¥याउने अगुवालाई सम्मान गर्न लागिएको हो ।

यसरी सम्मान पाउनेहरुमा स्याङजा, सिरुबारीका पर्यटन संयोजक जुम गुरुङ, लमजुङ– घलेगाउँका पर्यटन समिति अध्यक्ष प्रेम घले र पर्वत जिल्लाको चित्रे सामुदायिक होमस्टेकि अध्यक्ष शुसिलादेवी गुरुङ छन् ।  उनीहरु तीनै जनालाई ‘एक्सिलेन्ट लिडरसिप अवार्ड’ प्रदान गर्न लागिएको हो । ‘होमस्टे सहित गाउँको पर्यटन विकासमा कुशलतापूर्वक नेतृत्व निर्वाह गरेस्वरुप उनीहरुको सम्मान गर्न लागेका हौ’, पहारीले भने ।

उक्त कार्यक्रममा नेपालको पहिलो होमस्टे गाउँ सिरुबारीका अभियन्ता एवं स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङको योगदान माथि चर्चा गरिनेछ । रुद्रमानकै अगुवाईमा २०५४ असोजदेखि सिरुबारीमा होमस्टे सहित गाउँ पर्यटन सुरु गरिएको थियो । उनको ८६ वर्षका उमेरमा १५ फागुन ०७२ मा निधन भएको थियो ।

पत्रकारिता पुरस्कार स्थापना

गाउँ पर्यटनका नायक रुद्रमान गुरुङको स्मृतिमा भिटोफ पोखराले दुई वटा पुरस्कार स्थापना गरेको छ । हरेक साउनमा भिटोफको वार्षिक साधारण सभामा पोखरासहित पश्चिमाञ्चल क्षेत्रका दुई जना पत्रकारलाई ‘रुद्रमान स्मृति पर्यटन पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ । पुरस्कारको राशी जनही ११ हजार १ सय ११ रुपैयाँ हुने भिटोफका सचिव रविन्द्रराज पौडेलले बताए ।

‘यो पुरस्कारले गाउँ पर्यटनमा कलम चलाउने पत्रकार मित्रहरुको हौसला बढाउनेछ’, सचिव पौडेलले भने । इलेक्ट्रोनिक्स र प्रिन्ट मिडियामा काम गर्ने दुई जना पत्रकारलाई बर्सेनी पुरस्कृत गरिने उनले बताए ।

कमेन्टहरु
Loading...