फलफुल प्रशोधन उद्योगलाई मुद्धा दर्ता

तनहुँ संवादाता ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले म्यादे गाउँपालिका– २ स्थित माउन्टेन तनहुँ सामुदायिक वेल तथा फलफुल प्रशोधन उद्योगलाई मुद्धा दर्ता गरेको छ ।

खाद्य गुणस्तर मापदण्ड अनुसारको पालना नगरेका कारण उक्त उद्योगलाई मुद्धा दर्ता गरेको हो ।

बेलको जुस उत्पादन गर्दै आएको उक्त उद्योगले खाद्य गुणस्तर मापदण्ड पालना नगरेको भेटिएकाले तनहुँ जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको खाद्य निरिक्षक प्रशान्त पोखरलले बताए ।

उनका अनुसार उक्त उद्योगमा अनुगमन गर्दा खाद्य स्वच्छता र गुणस्तरमा शंका लागेर नमुना संंकलन गरिएको थियो । उत्पादीत जुसको नमुना संकलन गरी भैरहवा पठाइएको थियो ।

परिक्षणका लागि भैरहवा पठाउँदा सो नमुनामा नेपाल सरकारले फलफुलको स्क्वासको लागि तोकेको गुणस्तर परिधिमा नपरी निम्नस्तर रहेको पाइयो भन्ने व्यहोराको परीक्षण प्रतिवेदनमा प्राप्त भयो र सो कार्य खाद्य ऐन २०२३ को दफा ३ विपरीत गरेको देखिदा सो उद्योगका संचालकलाई सोही ऐनको दफा ५ को उपदफा १ बमोजिम सजाय हुने मागदावी लिइ जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको उनले बताए ।

उक्त उद्योग विष्णुकुमार श्रेष्ठले संचालन गर्दे आएका हुन् ।

कार्यालयले होटेल, रेस्टुरेन्ट, उद्योग, किराना लगायतका पसलमा अनुगमन गर्दै आएको छ ।

पछिल्लो समय खाद्य स्वच्छता कायम नगरेको गुनासो बढ्न थालेपछि कार्यालयले अनुगमनलाई तीव्रता दिँदै आएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले तनहुँसहित लमजुङ, गोर्खा, मनाङ र पुर्वीनवलपरासी जिल्लाको अनुगमन गर्दै आएको छ ।

पाँच वटै जिल्लाको खाद्य स्वच्छता कायम गर्न प्रतिवद्ध रहेको र कानुन विपरीत काम कारवाही गर्ने खाद्य उद्योगीहरुलाई कारबाहीको दायरामा ल्याउने खाद्य निरीक्षक पोखरेलले बताए ।

कमेन्टहरु
Loading...