काहुँ धरहरामा सार्वजनिक यातायात आउने व्यवस्था गर्नेछु : थापा

पोखरा । गण्डकी प्रदेश सभासदस्य कास्की क्षेत्र नं.२(२) का उम्मेदवार विन्दुकुमार थापाले काँहु धरहरामा सार्वाजनिक यातायात पुनः आउने व्यवस्थाका लागि आफुले पहल थाल्ने बताएका छन् ।
गठबन्धनका साझा उम्मेदवार थापाले पोखरा महानगरपालिका ११ काँहुधरहरामा घरदैलो गर्दै मतदाताको समस्या बुझ्ने क्रममा सार्वजनिक यातायात नआउने गुनासो गरेपछि छिटै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीयहरुले कोरोना महामारीभन्दा पहिला काहुँधरहरामा सार्वजनिक यातायात आउनेगरेपनि अहिले आउन छाडेको र उक्त कुराका लागि पहल गरिदिन आग्रह गरेपनि उनले मंसिर ४ पछि उक्त समस्या समाधान गर्ने गरी अघि बढ्ने बताएका हुन् ।

स्थानीय कल्पना परियारले आफुहरुले विरामी हुँदा समेत अस्पताल जानका लागि महँगो भाडा ट्याक्सिलाई तिर्न बाध्य भएको र दैनिकी कामका लागि बजार झर्न समेत असहज भएको बताउँदै थापालाई यसको समाधानका लागि गुहारेकी हुन् ।

थापाले तत्कालै गर्दा आचारसंहिता लाग्ने भन्दै निर्वाचन पश्चात महानगरपालिकासंग समन्वय गरेर समस्याको समाधान गर्ने सुनाए । ‘महानगरमै सार्वजानिक यातायात नआउनु दुःखद् कुरा हो । महानगरवासीलाई सुख र सेवा दिनु हाम्रो दायित्व हो । यो काम म मंसिर ४ पछि जितेपनि हारेपनि गर्नेछु’ थापाले भने,‘यहाँ धेरै समस्या छन् । हामी प्याकेजमा विकासका योजना अघि बढाउने छौं । खानेपानीदेखी यहाँको कृषि र पर्यटनलाई विशेष जोड दिनेछौं ।’ पोखरा बजारबाट नजिकै रहेको काहुँ डाँडा निकै रमणीय रहेको र उक्त कुराको फाइदा लिन स्थानीय र प्रदेश सरकारले नसकेको बताए । उनले अघिल्लो पाँच वर्ष प्रदेश नामाकरण, संरचना निमार्ण, नीति निमार्ण तथा ऐन कानून बनाउमै वितेको बताउँदै अबको पाँच वर्ष पुर्ण विकासका लागि मात्रै रहेको सुनाए । थापाले काहुँबासीलाई मणिपाल अस्पताल र भलाम जानका लागि सहज हुने किसिमले मणिपाल शिक्षण अस्पतालसँग समन्वय गरी बाटो खुलाउने समेत प्रतिबद्धता व्यक्त गरे ।

‘विकासका उज्याला किरणले काहुँलाई छुनेछ’
कास्की क्षेत्र नं.२ (२) प्रदेश सभाका सदस्य उम्मेदवार विन्दुकुमार थापाले काँहुडाँडाको समस्या समाधान गर्ने बताएका छन् । गठबन्धनका साझा उम्मेदवार थापाले शुक्रबार काहुँडाँडामा घरदैलो गर्दै जनताको समस्या सुनेपछि विकासका योजनालाई प्याकेजको रुपमा अघि बढाइने बताए ।

उनले पोखरा बजार क्षेत्रबाट अत्यन्तै नजिक रहेको काहुँ प्राकृतिक हिसाबले निकै रमणीय स्थान भएपनि विकासका हिसाबले पछि परेको सुनाए । उनले काहुँडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । ‘हामी सरकारमा जाँदा धेरै काम गर्न सक्छौ । यहाँ खानेपानीको समस्या छ, त्यो समस्या समाधान हुनेछ । काहुँमा प्याकेजको हिसाबबाट विकासका उज्याला किरण लिएर आउने छु’, थापाले भने,‘तपाईंहरुको साथ र सहयोग बोकेर अघि बढ्नेछु । यो निकै रमणीय ठाउँ छ । पर्यटन र कृषिमा जोड दिदैँ तपाईंहरुको समस्या र मनोआकांक्षा बुझेर नै काम गर्नेछु ।’

स्थानीय वामदेव प्रसाद आचार्यले जनताको अड्केको काम पुरा गर्न थापालाई सुझाव दिए । उनले काहुँवासीको अपेक्षा र आशा थापामाथि नै रहेको सुनाउँदै जनतालाई फर्केर हेर्न आग्रह गरे ।
‘जनताको अड्केको काम पुरा गर्नुस् । तपार्इं आजमात्र होइन् सँधै आउनुहुन्छ भन्ने विस्वास हामीलाई छ । जनतालाई फर्केर हेर्नुस अनि विकास गर्नुस् शुभकामना छ’, उनले भने ।
थापाले आफु जनताकै लागि उम्मेदवारी दिएको बताउँदै जनताको सेवामा हिजोका पाँच वर्षमा लागेको र अब पनि निस्वार्थ भावनाले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । थापाले खानेपानीका लागि अब धेरै समय काहँुबासीले खानेपानीको समस्या खेप्नु नपर्ने बताए । उनले पाँच वर्ष प्रदेशको नीति नियमदेखी संरचना बनाउन व्यतित गरेको र अबको पाँच वर्ष विकास र संवृद्धिका लागि खर्च गर्ने बताए । साथै थापाले आफु विजयी भएर गएमा सरकारी सेवा सुविधाबाट प्राप्त रकम सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कमेन्टहरु
Loading...