दोश्रो सृजना कप छात्र/छात्रा भलिबल प्रतियोगितामा ४२ टिम भिड्ने

फाइल तस्बिर

पोखरा, ५ फागुन/ पोखरामा फागुन ७ गतेदेखि हुने सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिवल प्रतियोगितामा ४२ टिम भिड्ने भएका छन् । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा फागुन १० गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा छात्रतर्फ २७ र छात्रातर्फ १५ गरि कुल ४२ टिम भिड्ने भएका हुन् ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ अघिल्लो वर्षदेखि शुरु भएको प्रतियोगिताको यो दोश्रो संस्करणको टाइसिट भने मंगलबार दिउँसो सार्वजनिक गरिने आयोजक कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । प्रतियोगिता पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा हुने उनले बताए । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले बुधबार उद्घाटन गर्ने कार्यक्रम तय भएको सृजना विकास केन्द्रका अध्यक्ष मिनप्रसाद भट्टराईले बताए ।

प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुले मात्र सहभागिता जनाउँदैछन् । प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीहरु मात्र सहभागि हुन पाउनेछन् । भलिबलको जग मानिने सामुदायिक विद्यालयबाट खेलाडी उत्पादन शून्य प्रायः भएपछि भलिबलमा पुर्नजागरण ल्याउनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए ।

प्रतियोगिताले सामुदायिक विद्यालयमा खस्किएको भलिबल उकास्ने विश्वास गरिएको उनको भनाई छ । प्रतियोगिताले खेलाडी उत्पादन गर्न मद्धत पुग्छ भन्ने हाम्रो विश्वास हो,‘उनले भने,‘यसले सामुदायिक विद्यालयदेखि गाउँघरसम्म भलिबल खेलप्रति जागरण पैदा गराउँछ, भलिबल खेलप्रति आकर्षण जगाउँछ ।’

प्रतियोगितामा उपाधि बिजेता छात्र÷छात्रा दुबै तर्फकालाई ५०/५० हजार, उपबिजेतालाई ३०/३० हजार र तृतीय हुने विद्यालयलाई १५/१५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५/५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई १/१ थान भलिबल प्रदान गरिने सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...