टी–२० को उपाधि माथि आर्मीको कब्जा

जनकपुर, २८ माघ/जनकपुरका सिनियर क्रिकेटर दिपक गुप्ताको स्मृतिमा जनकपुरमा सम्पन्न दोश्रो दिपक गुप्ता मेमोरियल टि–२० क्रिकेट टुर्नामेन्ट अन्तर्गत मंगलवार भएको फाईनल खेलमा कलैया क्रिकेट क्लवलाई ६ विकेटले हराएर त्रिभुवन आर्मी क्लवले उपाधि माथि कब्जा गरेको छ । निर्धारित २० ओभरको खेलमा टस् जितेर व्याटिङ्ग गरेको कलैयाले ६ विकेट गुमाउदै १ सय ६१ रनको योगफाल तयार गरेको थियो । यो योगफल टुर्नामेन्टकै सर्वाधिक योगफल रहेको थियो ।

कलैयाका लागि अमित श्रेष्ठले सर्वाधिक ५९, आरीफ शेष ४४, अनिल साह २० सुमित श्रेष्ठले १६ र विनोद दासले १३ रन बनाएका थिए । आर्मीका बलहरु लेकेन्द्र चन्द्रले ३ तथा रुपेश श्रीवास्तव र राहुल विकले १÷१ विकेट लिएका थिए । १ सय ६२ रनको जित लक्ष्यका साथ मैदानमा उत्रेको आर्मी क्लवले निर्धारित २० ओभर समाप्त हुन २ बल बाकी नै रहदा ५ विकेटको क्षतिमा उपाधिमाथि कब्जा गर्न सफल भएको थियो । आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ४४, अनिल मण्डलले ४२, नरेश बहादुर बुडाएर ३७ र रुपेश श्रीवास्तवले नट आउट ९ रन बनाएका थिए ।
आर्मीको जितमा रुपेश श्रीवास्तवको भुमिका महत्वपूर्ण मानिएको छ ।

जितका लागि ६ बलमा ९ रन आवश्यक रहेको बेला रुपेश श्रीवास्तवले छक्का प्रहार गरेपछि खेल आर्मीको पक्षमा आएको थियो । निक्कै संघर्षपूर्ण मानिएको फाईनल खेलमा कलैयाका विनोद दासले २, आरिफ शेषले १ र पवन सर्राफले १ विकेट लिएका थिए । फाईनल खेलमा आर्मीका तर्फबाट ३ छक्काको मद्दतले सर्वाधिक ४४ रन बनाएका राजेश पुलामीलाई प्लेयर अफ द फाईनल घोषित गरिएको थियो । उनलाई एन बि. बैंकको तर्फबाट नगद १ हजार ५ सय र ट्रफी प्रदान गरिएको थियो । उपाधिमाथि कब्जा गरेको आर्मी क्लवलाई विजयी कपको साथै १ लाख १ हजार रुपैयाँ नगद प्रदान गरियो भने उप विजेता टिम कलैयालाई ट्रफीका साथै नगद ७० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

त्यसैगरी टुर्नामेन्टको म्यान अफ दि सिरिज कलैयाका अमित श्रेष्ठले प्राप्त गरे । उनलाई ट्रफी का साथै १५ हजार नगद प्रदान गरिएको थियो । टुर्नामेन्टका वेस्ट व्याटस् म्यान घोषित भएका आर्मीका क्लवका अनिल मण्डललाई ट्रफीका साथै १० हजार रुपैयाँ प्रदान गरिएको थियो । यसै गरी टूर्नामेन्टका वेस्ट बलर घोषित भएका फयजूल रहमान खानलाई ट्रफीका साथै १० हजार नगद प्रदान गरियो । टुर्नामेन्टको समापन समारोहमा क्रिकेटर स्वर्गीय दिपक गुप्ताको धर्मपत्नी पुनम गुप्तालाई धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष हिरा भगतले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

समापन कार्यक्रममा क्रिकेट एशोसिएशन अफ नेपालका अध्यक्ष टंक आङ्गहुवाङ्ग लिम्बु तथा नेपाल क्रिकेट टिमका प्रथम कप्तान उत्तम कर्माचार्य, प्रहरी उपरिक्षक उत्तमराज सुवेदी, सुवर्ण थापा मगर, टुर्नामेन्ट आयोजक समितिका संयोजक सरोज मिश्र, अर्थ संयोजक सिद्धार्थ साह,राजु चौधरी, पूर्व मेयर बजरंग साह लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । उक्त समापन कार्यक्रममा स्कोरर नारायण खड्का, एम्पायरहरु रामकैलाश यादव, धिरज पौडेल, विनय कुमार झा, मुकेश साह, उमेश साहका साथै टुर्नामेन्टमा सहयोग गर्ने मिडिया पार्टनर, पत्रकारहरु र टुर्नामेन्टमा सहयोग गरेका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कमेन्टहरु
Loading...