सृजना विकास केन्द्रको दौडमा बस्नेत प्रथम

पोखरा, १५ जेठ/सृजना विकास केन्द्र, सिमलचौर पोखरा–८ को आयोजनामा ११ औं गणतन्त्र दिवस अवसर अवसरमा भएको दौड प्रतियोगितामा फूलबारी व्यारेकका रामजी बस्नेत प्रथम भएका छन् । निर्धारित ८ किमीको सो दौड बस्नेतले २४ मिनेट ५८ सेकेण्डमा पूरा गरी प्रथम हुन सफल भएका हुन् । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगितामा नेपाल प्रहरीका भूमिराज राई दोस्रो र नेपाली सेनाका सुवास कार्की तेस्रो भए । उनीहरुले २५ मिनेट ३४ सेकेण्ड तथा २५ मिनेट ४३ सेकेण्डमा दूरी पूरा गर्दै क्रमशः ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाए ।

यस्तै, चौथो र पाँचौ भएका रणसिंह दलका ईश्वर श्रेष्ठ र पोखराका राजेन्द्र तामाङले जनही ३ हजार रुपैयाँ पाए । कुल ६० जना सहभागी रहेको दौडमा एकमात्र महिला सहभागी फूलबारी व्यारेककी बासना थापा तथा जुनियर प्रोत्साहन स्वरुप स्माइल भण्डारी, विनोद गुरुङ, प्रवीण तामाङलाई जनही १ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको संस्थाका कोषाध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए । कार्यक्रम संयोजन विक्रमकुमार खिचाजुले गरेका थिए ।

सिठ्ठी फुकेर दौड प्रतियोगिता उद्घाटन गर्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले शहीदको सपना साकार पार्दै प्रदेश विकास र समृद्धिको दिशामा अगाडि बढ्ने बताइन् । त्यस्तै मन्त्री पुनले संस्थाका प्रथम उपाध्यक्ष कृष्ण थापालाई ब्लडव्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रम उद्घाटन गरिन् । पत्रकार समेत रहेका थापाले हालसम्म ५६ पटक रक्तदान गरेका छन् । कार्यक्रममा ३५ जना यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक राजकुमार ठुसाजुले जनाए ।

संस्थाका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रथम उपाध्यक्ष कृष्ण थापा र संचालन महासचिव मीनप्रसाद भट्टराई गरेका थिए । ‘सृजनाको परिकल्पना, समुन्नत समाजको स्थापना’ भन्ने मूलमन्त्रका साथ २०३७ सालमा स्थापित सिर्जना विकास केन्द्र विभिन्न सामाजिक कार्यमा क्रियाशील रहेको संस्थाका कोषाध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए । संस्थाले बैंकिङ कार्यक्रम एवं द्वन्द्वपीडित बालबालिकाको निम्ति बालगृह संचालन गर्नुका साथै खानेपानी, खेलकुद, स्वास्थ्य क्षेत्रमा समेत सामाजिक कार्य गर्दैआएको छ ।

कमेन्टहरु
Loading...