पोखरामा हुने विद्यालयस्तरीय टी–२० क्रिकेटको खेल तालिका सार्वजनिक

पोखरा, २४ माघ /कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शनिबारदेखि शुरु हुने विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । संघले बिहीबार सहभागि विद्यालयको उपस्थितिमा खेल तालिका सार्वजनिक गरेको हो । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले लिगकम नकाउटको आधारमा प्रतियोगिता खेलाईने बताएका छन् ।

नेप्लिज इनकाउन्र्टस एजुकेशनको मुख्य प्रायोजनामा हुने प्रतियोगितामा १२ विद्यालयको सहभागिता रहेको छ । कुमुदिनी होम्स, अमरसिंह नमूना मावि, मदरल्याण्ड बोर्डिङ, हिमाञ्चल बोर्डिङ, पास्कल, प्रतिभा बोर्डिङ, हिमालयन, नेपाल भारत मैत्री विद्यालय, टप्स, सृजना, जनप्रिय र जुनियर सिटीजन्य एकेडेमीको सहभागिता रहेको छ ।

सार्वजनिक गरिएको खेल तालिका अनुसार पहिलो खेल कुमुदिनी होम्सले अमरसिंह नमूना माविसँग खेल्ने छ भने दोस्रो खेल मदरल्याण्डले हिमाञ्चल बोर्डिङ स्कुलसँग प्रतिस्पर्धा गर्ने ह्वाई वरी इभेण्ट मेनेजमेन्ट प्रालिका निर्देशक विधान श्रेष्ठले जानकारी दिए । प्रतियोगितालाई ह्वाई वरी इभेन्ट म्यानेजमेन्ट प्रालिले संयोजन र व्यवस्थापन गर्ने छ ।

विजेताले २५ हजार नगद राशी पुरस्कार स्वरुप पाउने छ भने उपविजेताले १५ हजार नगद राशीको पुरस्कार प्राप्त गर्ने छ । विधागत रुपमा बेष्ट व्याट्सम्यान, बेष्ट बलर, म्यान अफ दि सिरिज र इमर्जिङ प्लयेर तथा खेलको म्यान अफ दि म्याचको पुरस्कार समेत प्रदान गरिने छ । । उनले प्रतियोगिताको लागि ५ लाख रुपैयाँ खर्च हुने समेत जानकारी गराए ।

२०६५ सालमा पोखरा रंगशालाभित्र क्रिकेट मैदान निर्माण शुरु गरिएको थियो । झण्डै दुई वर्षपछि मैदान तयार गरियो । मैदान तयारपछि पोखरामा २०६८ सालमा महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरिएपछि लगातार क्रिकेटको नियमित प्रतियोगिता सञ्चालन हुदैं आएको छ । पोखरा रंगशालाभित्र क्रिकेट मैदान निर्माणपछि आयोजना गरिएको पहिलो राष्ट्रिय प्रतियोगिता समेत त्यही थियो । त्यसपछि २०६९ सालमा यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरिएको कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । २०७० सालमै महिला राष्ट्रिय यु–१९ प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

पोखरा रंगशालाभित्र क्रिकेट मैदान निर्माण नहुदाँसम्मको अवस्थामा संघले नदीपुरस्थित नगरप्रशिक्षण केन्द्रको मैदानलाई प्रतियोगिताको लागि उपयोग गर्दै आएको थियो । अहिले राष्ट्रिय खेलकुद परिषदबाट क्रिकेट मैदानको लागि १० लाख रुपैयाँ बजेट छुट्टिएको छ । छुट्टिएको बजेटबाट मैदानको लागि अत्यावश्यक पानीको व्यवस्थापन गरिएको क्रिकेट मैदान निर्माण समितिका अध्यक्ष एवं संघका कोषाध्यक्ष चन्द्रकुमार गुरुङले जानकारी दिए । उनले बचत रकमबाटै मैदानको लेभलिङको लागि माटो हालेर सम्याउने काम अघि बढाईएको बताए ।

कमेन्टहरु
Loading...