रुप फेरीएको पोखरा रंगशालामा आहा रारा गोल्डकप

पोखरा, २२ फागुन / आहा रारा आयोजनाको १८ वर्ष पुग्दा बिग्रेड ब्वाईजले पहिलो सहभागिता जनाउँदै छ । सहभागिता जनाउन उज्यालोमै टिम पोखरा आईपुगेको छ । बिग्रेड आफैंमा भाग्यमानी टोली पनि हो, यस मानेमा नयाँ निर्माण गरिएको प्यारापिटसहितको फुटबल मैदानमा खेल्ने पहिलो ए डिभिजनको क्लब बन्ने छ । पहिलो सहभागितामै आयोजक सहारा क्लबलाई पराजित गरेर ऐतिहासिक सफलता चुम्ने ध्यानमा बिग्रेड ब्वाईज केन्द्रीत हुने छ ।

नेतृत्व अनिल गुरुङले गर्ने छन् । अनिलसँगै पोखरेली खेलाडी विजय गुरुङलाई पनि ब्वाईजले आफनो जर्सीमा पोखराको मैदानमा उतार्ने छ । उनीहरुसँगै यु–१९बाट खेलिसकेका पोखरेली युवा खेलाडी रन्जित पौडेल समेत अनिल र विजयसँगै मैदानमा खुट्टा चलाउने छन् । राजेश परियारले पनि टोलीका महत्वपूर्ण हिस्सा बन्ने छन् ।

अनिल आफैंमा नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान समेत हुन् । विजय सबैभन्दा अब्बल लेफ्ट विङ्गरको रुपमा परिचित छन् । युवा खेलाडीलाई समेट्दै नयाँ जोश र उमंगसँगै पोखराको मैदानमा घरेलु खेलाडीलाई लिएर बिग्रेड ब्वाईजले आफनो अस्थित्व देखाउने छ । ‘पोखरेली खेलाडीलाई समेत टिममा समावेश गरिएको छ’ क्लबका उपाध्यक्ष राजु श्रेष्ठले भने–‘पहिलो सहभागिता हो । राम्रो नजिताको अपेक्षासहित उत्रिने छौं ।’

उदघाटन खेलमा आयोजक सहाराले धेरै क्लबसँग प्रतिस्पर्धा गरिसकेको छ । १८ औं सस्करणमा आईपुग्दा ए डिभिजन लिग खेलेको क्लबसँग भने यो पहिलो भेट हुने छ । आयोजक सहाराले यस अघिका संस्करणमा रुपन्देही ११, सुदुरपश्चिम ११ तथा नाईटचेस झापासँग उदघाटन खेल खेल्दै आएको थियो ।

आयोजक सहाराले पनि घरेलु युवाहरुलाई टिममा अटाएको छ । यद्यपी अधिकांश खेलाडी हिमालयन शेर्पाबाट खेल्दै आएको पुरानै अनुहार देखिने छ । टिमको कप्तानी सम्हाल्ने जिम्मेवारी मनबहादुर तामाङकै काँधमा हुने छ । उनीसँगै त्रिदेव गुरुङ,विजय श्रेष्ठ, भिसन गुरुङ, आशिष गुरुङ, रवि थापामगर लगायतका खेलाडीको जमघट रहने छ । घरेलु मैदानमा उत्साह र उर्जा उत्तिकै हुने छ । टिमलाई प्रशिक्षण भने विष्णु गुरुङले दिदैं आएका छन् । ‘टिम राम्रो छ । सबै पोखरेली खेलाडी नै हुन् ।’ सहारा क्लबका टिम व्यवस्थापक सुनिल रानामगरले भने–‘अधिकांश हिमालयन शेर्पाबाट खेल्दै आएका खेलाडी छन् ।’

दुवै टोलीलाई पोखरा रंगशाला फुटबल मैदान नयाँ हुने छ । १७ औं सँस्करणको खेलसँगै फुटबल मैदानको पुर्व र पश्चिम रहेको प्यारापिट भत्काउन शुरु गरिएको थियो । गतवर्ष फागुन २६ गते नयाँ मैदानसहितको प्यारापिट पुर्वाधार बनाउन शिलान्यास गरिएको थियो । शिलान्यासको वर्ष्दिनपछि खेल शुरुहुदैं छ । मैदान र प्यारापिट निर्माण अझै सकिएको छैन् ।

फुटबलको पुर्वाधार हस्तान्तरण नहुदैं क्लबस्तरीय फुटबल प्रतियोगिता भने पहिलो हुने छ । यसभन्दा अघि १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगिता आयोजना गरिएको थियो ।

प्यारापिट पोखरेली दर्शकको लागि पनि नयाँ हुने छ । आधुनिक स्टिल मोडुलर सिष्टमको प्यारापिट निर्माण गरिएको छ । दर्शक क्षमता १६ हजार ५ सयको छ । थप ३ हजार ५ सय निर्माण गर्ने लक्ष्य एवं योजना छ । १७ वटा शौचालय छन् । मैदान, प्यारापिट र शौचालयको संरक्षण गर्नुपर्ने दायित्व आम खेलप्रेमीको काँधमा रहेको आयोजक सहारा क्लबले जनाएको छ ।

‘फुटबल प्रतियोगिता अवधिसम्मको संरक्षण र सम्बद्र्धनको दायित्व र जिम्मेवारी सहारा क्लबले लिने छ ।’ सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले भने–‘केही टुटफुट भए सहारा क्लबले व्यहोर्ने छ ।’

यो संस्करणमा तीन विभागीय क्लबसँगै उपाधिको लागि रुस्लान थ्रीस्टार, नेपाल आयल निगम मनाङ मस्याङ्दी क्लब, बिग्रेड ब्वाईज क्लब, संकटा क्लब, झापा ११ फुटबल क्लब, गान्तोक सिटी फुटबल क्लब भारत र आयोजक सहारा क्लबले प्रतिस्पर्धा गर्ने छन् । विजेताले १० लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले भने ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ । त्यसैगरी सर्वोत्कृष्ष्ठ खेलाडी प्रायोजन अप्रिला स्कुटर प्रदान गरिने छ । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ प्रदान गरिने छ । बेष्ट फाईभलाई नगद १५ हजार रुपैयाँ प्रदान गरिने छ ।

कमेन्टहरु
Loading...