पोखरा फुटबल मैदान निर्माणः ४० प्रतिशत काम सकियो, सिन्थेटिक ट्रयाक आइपुग्यो

पोखरा, ३० भदौ/ नियमित जसो परेको झरीले पोखरा रंगशाला फुटबल मैदानको रनिङ ट्रयाक पीच गर्न समस्या परेको छ । चिसोमा पीच गर्नु हुदैन् । पानी नियमित जसो परेको छ । ट्रयाक सुकेपछि कालोपत्रे पीच गरिने छ । कालोपत्रे गरेपछि सिन्थेटिक ट्रयाक राख्ने काम आधा सकिन्छ ।

सिन्थेटिक ट्रयाकको लागि आवश्यक सामान जर्मनबाट आईसकेको छ । ३ कन्टेनर सामान पोखरा रंगशालाभित्र झरिसकेको छ । बाँकी ३ कन्टेनर सामान(६० टन) आईपुगेपछि ठेकेदार कम्पनीले काम सक्ने जनाएको छ । पोखरा रंगशाला फुटबल स्टेडियम निर्माणको लागि भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)ले काम गरिरहेको छ ।

गत फागुन २६ गतेदेखि मैदान निर्माण शुरु गरिएको हो । फुटबल मैदान भने नेचुरल बनाईदैं छ । कृत्रिम घाँस र प्राकृतिक घाँसे मैदान बनाउने भन्ने लामो समयको विवादपछि प्राकृतिक मैदान बनाउने निर्णय गरिएको थियो ।

‘सिन्थेटिक ट्रयाक राख्नको लागि आवश्यक सामान ग्रानुयल्स सिन्थेटिक ट्रयाकको सामान(रबरयुक्त दाना)आईसकेको छ ।’ स्थानीय प्रोजेक्ट म्यानेजर दिपक बरालले भने–‘कालोपत्रे पीच गरेपछि केमिकल मिसाएर रबरयुक्त दानालाई ट्रयाकमा हाल्छौं ।’ उनका अनुसार ट्रयाकको सबै काम दशैं अघि सक्ने लक्ष्य सहित काम गरिएको उनले बताए ।

‘कालोपत्रे पीच गर्न पानीले समस्या बनाएको छ ।’ उनले भने–‘सुख्खा भएपछि पीच गरिने छ । त्यसको लागि दुईसाताको समय लाग्ने अनुमान छ ।’ चारसय मिटरको रनिङ ट्रयाकसँगै फुटबल मैदानको उत्तर र दक्षिण तर्फको डि एरियामा पनि सिन्थेटिक ट्रयाक राखिने छ । ट्रयाक राख्नको लागि अहिले कम्पनीले सरसफाई गरिरहेको छ ।

सिमसिमे पानीले कामलाई प्रभावित बनाईराखेको छ । पानी परेकै कारण काम ढिलो भएको प्रोजेक्ट म्यानेजर बरालले बताए । उनले अहिले सम्म ४० प्रतिशत काम सकिसकेको बताए ।

मैदानको लागि अहिले लेभलिङको काम भईरहेको छ । सिंचाईको लागि मैदानमा आवश्यक पाईपिङ गरिसकिएको छ । त्यसमाथि गिटी हालेर बालुवा राखिएको छ । बालुवा सम्याईसकेपछि माथिल्लो तहमा माटो भरिने कम्पनीले जनाएको छ । माटो भरेपछि कोलकत्ताबाट ल्याएको दुबोसहितको चपरीलाई मैदानमा सेट गरिने छ । त्यसबाहेक १७ वटा शौचालयका ब्लक निर्माणको काम धमाधम भईरहेको छ । भीआईपी प्यारापिटदेखि दर्शक दीर्घालाई समेत हुने गरी शौचालयका ब्लक बनाइएको कम्पनीले जनाएको छ ।

फुटबल मैदान निर्माणको अन्तिम म्याद कार्तिक १५ भित्र तोकिएको छ । यद्यपी अझै सामान बाहिरबाट आउँदै छ । फ्रान्सबाट प्यारापिटको सामान आउँदै छ । दुई महिना लाग्ने अनुमान छ । ‘फ्रान्सबाट प्राविधिक टोली अध्ययनको लागि एक साताभित्र पोखरा आईपुग्ने छन् ।’ बरालले भने–‘अध्ययन गरिसकेपछि उनीहरु आफैंले जडान गर्ने हुने । हामीले सहयोगी कामदार उपलब्ध गराउँछौं ।’ प्यारापिट स्टिल मोडुलर सिष्टमको हो । जुन फिटिङ गरेर तयार गरिने छ । उनका अनुसार प्यारापिटको सामान फिट गर्न बढीमा १५ दिन लाग्ने छ ।

निर्माणाधिन फुटबलको प्यारापिट क्षमता २०हजारको हुने छ । १६ हजार ५ सय क्षमताको रहेपनि दुई महिना अघि मात्रै बसेको बैठकले ३ हजार ५ सय थप गर्ने सहमति अनुसार पोखरा रंगशालाको फुटबल मैदानको दर्शक क्षमता २० हजार पुर्याईने छ । फुटबल मैदान १०५ मिटर लम्बाई र ६८ मिटर चौडाईको छ । भीआईपी प्यारापिट अगाडि हाईजम्प र लङजम्प स्थल बनाईने छ । फुटबल मैदानका उत्तर र दक्षिणी भागको डि एरियामा सटफुटको लागि समेत छुट्टाईएको छ । फुटबल मैदानको लागि एक अर्ब २८ करोड रुपैयाको लागत अनुमान गरिएको छ । ठेक्का डिजाईन एण्ड विल्ड अनुसार गरिएको हो ।

Posted by Ganthan.com on Sunday, 15 September 2019

कमेन्टहरु
Loading...