प्याराग्लाईडिङ वल्र्डकप–एशियन टुर, टिम प्रतिस्पर्धामा नेपाल शीर्ष स्थानमा

पोखरा, १६ फागुन/ पोखरामा आयोजित प्याराग्लाईडिङको वल्र्डकप–एशियन टुर २०२० मा टिम प्रतिस्पर्धामा नेपाल शीर्ष स्थानमा उक्लेको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा भएको प्रतियोगिताको चौथो दिनको खेलमा टिम इभेन्टतर्फ खेलमा नेपाल पहिलो स्थानमा उक्लिएको हो ।

प्रतियोगिता अन्तरगत शुक्रबार ५४.२ किलोमिटरको क्रस कन्ट्री इभेन्ट तर्फको ओभरअल ‘टास्क’मा टिम नेपाल पहिलो स्थानमा बनाएको हो । नेपालकै अर्को टिम ‘टिम एभरेष्ट’ले तेश्रो स्थानमा बनाएको छ भने कोरियाको टिम टप अफ कोरिया दोश्रो स्थानमा रहेको छ ।

टिम नेपाल कुल ३७ अंक, कोरियाको ३५ अंकका साथ दोश्रो र टिम एभरेष्ट ३२ अंकका साथ तेश्रो स्थानमा रहेको छ । बिहीबार सम्मको खेलमा कोरिया पहिलो र नेपालका दुई टिम क्रमश दोश्रो र तेश्रो स्थानमा रहेका थिए । टिम तर्फ प्रत्येक देशका ४–४ जना खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् । शुक्रबारको प्रतिस्पर्धामा ९४ जना मध्ये ५७ जनाले टास्क पुरा गरेका छन् ।

एकल तर्फको प्रतिष्पर्धामा भने कोरियाका जङ्गमेन चोई १४८१ अंकका साथ पहिलो स्थानमा रहँदा कोरियकै चिक्योङ हा १४५४ अंकका साथ दोश्रो र नेपालका विशाल थापा १४५९ अंकका साथ तेस्रो स्थानमा रहेका छन् ।

त्यसै गरि महिला एकल तर्फ अमेरिकाकी ग्यालेन कर्कप्याट्रिक ४९९ अंक सहित पहिलो स्थानमा छन् भने स्विजरल्याण्डकी सुसन स्टोफर २२५ र कोरियाकी याना ली २१५ अंकका साथ क्रमश दोश्रो र तेश्रो स्थानमा रहेका छन् ।

नेपाल तर्फको १९ औं च्याम्पियनशिप अन्तरगत विशाल थापा १४५० अंकका साथ पहिलो, विजय गौतम १४४० अंकका साथ दोश्रो र आशिष थापा १४२३ अंकका साथ तेश्रो स्थानमा रहेका छन् । शुक्रबारको टास्क अन्तरगत प्रतियोगीहरुले सराङकोट हुँदै तोरीपानी, नौ डाँडा, अर्मला, शान्तीस्तुपा, ठूलाखेत, लामा गाउँ हुँदै खपौंदीमा ल्याण्डिङ गरेका थिए ।

प्रतियोगितामा २० देशका ९४ जना पाइलटहरुले प्रतिष्पर्धा गरिरहेको प्रतियोगिताका संयोजक एवम ना का निवर्तमान अध्यक्ष योगेश भट्टराईले बताए । नेपाली १३ जना सहित सहभागिता रहेको उक्त प्रतियोगितामा ८ जना विदेशी महिला खेलाडी छन् ।

कमेन्टहरु
Loading...