मलेसिया ११ लाई मैत्रीपूर्ण खेलमा नेपालले १३५ रनले पराजित

पोखरा, ७ माघ / एकहप्ता देखि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मैत्रीपूर्ण एकदिवसीय खेलमा मलेसिया ११ लाई सहज जित निकालेको छ । गत शनिबार कास्की ११ लाई मैत्रीपूर्ण खेलमा सहज पराजित गरेको मलेसिया ११ सोमबार पोखरा रंगशाला क्रिकेट मैदानमा नेपाल क्रिकेट संघ(क्यान) बोर्ड ११ सँग १३५ रनको फराकिलो हार व्यहोर्यो ।

खेलमा मलेसिया ११ सस्तैमा समेट्ने क्रममा नेपाली बलर करण केसी र कमलसिंह ऐरीको प्रदर्शन लोभलाग्दो रह्यो । दुवैले मेडन ओभर राख्दै समान ३र३ विकेट लिए । करणले ८ ओभरमा दुई ओभर मेडन राख्दै २७ रन दिएर ३ विकेट लिदाँ ऐरीले ७ ओभरमा एक मेडन राख्दै २४ रनमा ३ विकेट लिए ।

टस हारेर व्याटिङमा उत्रिएको नेपालले मलेसियालाई २७८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । चौथो विकेटको लागि सन्दीप जोरा र आरिफ शेखले १५३ रनको महत्वपूर्ण साझेदारी गर्दै सम्मानजनक स्कोर बनाए । सुवास खकुरेल १२, ज्ञानेन्द्र मल्ल १९ र पारस खड्का १५ रनमा पवेलियन फर्किएपछि नेपाली राष्ट्रिय टोली सम्मिलित क्यान बोर्ड ११ सस्तैमा समेटिने संकेत देखिएको थियो । चौथो विकेटको लागि शतकीय साझेदारी निभाएपछि बोर्ड ११ ले सम्मानजनक स्कोर तयार पार्यो ।

आरिफ १०१ रन नटआउट(रिटायर्ड) रहे । उनले १०५ बल खेल्दै ७ चौका र ५ छक्का हिर्काए । उनले स्ट्राईकमा साथ दिदैं महत्वपूर्ण साझेदारी निभाउने क्रममा सन्दीज जोराले व्यक्तिगत अर्धशतक पुरा गरेका थिए । उनले ५८ रनमा आउट हुदाँ ७० बल खेल्दै ८ चौका र १ छक्का हिर्काएका थिए । बोर्ड ११ ले ५८ रन बनाउने क्रममा तीन विकेट खसिसकेको थियो ।

चौथो विकेटको लागि १५३ रनको साझेदारी गर्दै योगफल उकासे । चौथो विकेट २११ रन बनाउँदा गुमाएको घरेलु टोलीले पाँचौ विकेट २१४ रनमा गुमाएको थियो । ४७ ओभर खेल्ने क्रममा २७७ रनको योगफल तयार पार्दा करण केसीले २६ रन हिर्काए । पवनदिप सिंहले ३ विकेट लिने क्रममा ३१ रन खर्चिए । त्यसैगरी मोहम्मदी आरिफले पनि ३ विकेट लिन ३३ रन दिएका थिए ।

२७८ रनको लक्ष्य पछ्याएको मलेसिया ११ करण केसी र कमलसिंह ऐरीको घातक बलिङ सामु १४२ रनमै समेटियो । ३७.३ ओभर खेल्दै १४२ रनमा अलआउट हुदाँ सायद अजिजले २८ रन बनाए । २९ बल खेल्ने क्रममा ३ चौका र १ छक्का हाने । करण केसीले उनको विकेट लिएका थिए । आइनुल हकिमले पनि समान २८ रन नै बनाउने क्रममा ४७ बलको सामना गरेका थिए ।

उनले ४ चौका हिर्काए । कुशल मल्लको बलिङमा एलबी डब्लुको धरापमा पर्दै पवेलियन फर्किए । भिरन्दिप सिंहले २४ रन जोडे । ५० बल खेलेका सिंहले ३ चौका हिर्काएका थिए । अविनाश बोहोराको बलमा पारस खड्काले क्याच आउट गरे । कुशल मल्लले ८.२ ओभर बलिङ गर्दै ३८ रन खर्चिएर २ विकेट लिएका थिए ।

कमेन्टहरु
Loading...