थ्रीस्टार क्लब आहा राराको सेमिफाईनलमा

पोखरा, २५ फागुन / १८ औं सस्करणको आहा रारा गोल्डकपमा थ्रीस्टार क्लब सेमिफाईनलमा प्रबेश गरेको छ । पाहुना टोली गान्तोक फुटबल क्लबलाई ३ –० गोलले पराजित गर्दै आहाको सेमिफाईनल प्रवेश गरेको हो । पाहुना टोलीले थ्रीस्टारलाई पहिलो हाफ गोल रहित बराबरीमा रोक्दै उत्कृष्ट लय प्रस्तुत गर्यो ।

७९ औं मिनेटमा आएर थ्रीस्टारलाई सफलता मिल्यो । सन्जोक राईले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । निशान खड्काको पासमा मैदानको मध्यभागबाट बल अघि बढाउदै सन्जोकले एकल प्रयासमा गोलरक्षक निम्डुप लेप्चालाई कुनै मौका नै नदिई गोल गरे ।

८५ औं मिनेटमा छिरिङ लेन्डुप भुटियाले सिधै पोस्टमा गरेको लामो प्रहारलाई थ्रीस्टारका गोलरक्षक पुर्ण चेम्जोङले मुस्किलले बचाउदै बराबरी टारे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सुशान श्रेष्ठले गोल गर्दै थ्रीस्टारको जित पक्का गरे । लगत्तै सुशानले व्यक्तिगत दोस्रो गोल गर्दै थ्रीस्टारको ३(० को जित सुनिश्चित बनाए ।

सहारा क्लबको आयोजना पोखरा रंगशालामा सञ्चालित तेस्रो क्र्वाटरफाईनलमा खेलको आठौं मिनेटमा मिक्छेन तामाङको कर्नरमा अनन्त तामाङको हेडर बाहिरिँदा रुस्लान थ्री स्टारले महत्वपूर्ण अवसरलाई गुमाउन पुग्यो । २१औं मिनेटमा मिक्छेन तामाङको फ्रिकिकमा कप्तान बिक्रम लामाको हेडर बाहिरिँदा थ्री स्टारले खेलमा अग्रता लिनबाट फेरी चुक्यो । लगत्तै मिक्छेन तामाको कर्नरमा अनन्तको हेडर बाहिरियो । ४३औं मिनेटमा डन छिरिङ लेप्चाको फ्रिकिक पोस्टबाट थोरै बाहिरिदा गान्तोक सिटीले अग्रता लिने अवसर गुमायो ।

६४ औं मिनेटमा डन छिरिङ लेप्चाको फ्रिकिकमा छिरिङ लेन्डुप भुटियाको हेडर पोस्टबाट थोरै बाहिरिदा ग्याङतोकले अग्रता लिने अवसर गुमायो । थ्री स्टारले अब फाइनल प्रवेशको लागि सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिसले आयोजक सहारालाई टाइब्रेकरमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो । प्रतियोगिता अन्तर्गत मंगलबार त्रिभुवन आर्मी क्लब र संकटाबीच अन्तिम क्वाटरफाइनल हुनेछ ।

कमेन्टहरु
Loading...