आयोजक बगर भाइ खलक बुटवल संग स्तव्ध

पोखरा, ७ माघ/ बगर भाईखलकको आयोजनामा “तेश्रो स्व. रन्जित गुरुङ स्मृती तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता”को दोश्रो दिन आयोजक बगर भाइखलक ‘पहेलो’ पाहुना टिम बुटबल भेट्रान संग टाइव्रेकरमा पराजित हुँदा स्तव्ध भएको छ ।

आजको पहिलो खेलमा वगर भाइ खलक पहेँलो बुटवल भेट्रान संग निर्धारित समय १–१ गोलको बराबरी खेले पनि निर्णायक टाइव्रेकरमा ३–२ गोल अन्तरले पराजित भएको हो । आयोजक बगर भाइ खलकका लागि दक्ष गुरुङले खेलको ३० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिए पनि ४८ औं मिनेटमा बुटवलका लागि विश्वास थापाले बराबरी गोल फर्काएका थिए ।

टाइब्रेकरमा आयोजकका तर्फ बाट पेनाल्टी प्रहार गर्न आएका सिम गुरुङको प्रहार सोझै बुटबलका गोल रक्षक ऋषीराम आचार्यले जोगाएपछि आयोजकको टिम प्रतियोगिता बाट बाहिरिएको हो । खेलमा गोल रक्षक आचार्य म्यान अफ दि म्याच घोषित भए ।

यसै गरि दोश्रो खेलमा टि वर्गर ललितपुरले सिमरा भेट्रान माथी गोलको वर्षा गरेको छ । ललितपुरले सिमरा माथी ९–१ को जित दर्ता गरेको छ । ललितपुरका लागि खेलका म्यान अफ दि म्याच समेत रहेका शुक्र तामाङले ह्याट्रिक पुरा गरे । उनले एक्लैले ४ गोल गरे । ललितपुरकै अर्को टिम भनिमञ्डलले विरगञ्ज यूथ एकेडेमीलाई ४–० ले पाखा लगाएको छ । खेलमा भनिमञ्डलका लागि तेज बहादुर कलामी मगरले ह्याट्रिक गरेका थिए ।

आजै सम्पन्न अर्को एक खेलमा दिप युनाइटेड पोखरा हेटौडा रातो संग ४–० गोल अन्तरले पराजित भएको छ भने पोखराकै अर्को एक भेट्रान टिम एक्स पोखराले पाहुना टोली चितवन निलोमाथी ५–२ गोलले जित दर्ता गरेको छ । खेलमा एक्स पोखराका लागि कुमार शेरचनले ह्याट्रिक गरेका थिए । यसै गरि एक अर्को खेलमा हेटौडा भेट्रान निलोले ऋखंला भलामलाई २–१ ले पाखा लगाएको छ । लेकसाइड पोखरा चावहिल काठमाडौलाई टाइ व्रेकरमा ३–२ ले विजयी भएको छ । निर्धारित समयमा २–२ गोल गरि बराबरी खेले पनि पेनाल्टी शुट आउटमा काठमाडौका अजव श्रेष्ठको प्रहार खेर जाँदा लेकसाइड भाग्यमानी हुँदै खेल जितेको हो ।

माघ ११ गते सम्म संचालन हुने प्रतियोगितामा विभिन्न ९ जिल्ला र भारत कलकत्ताका गरि २८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधी विजेताले नगद १ लाख ११ हजार र उपविजेताले ५५ हजार ५ सय ५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बगर भाइ खलकका अध्यक्ष दिल बहादुर गुरुङले जनाएका छन ।

त्यसै गरी सेमीफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई नगद रु. १० हजार प्रोत्साहन स्वरुप प्रदान गर्ने संस्थाले जनाएको छ । त्यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्ड हुने खेलाडीलाई ट्रफी सहित जनही नगद रु. ५ हजार प्रदान गरिदेछ साथै सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद रु. १० हजार दिइने छ । त्यस्तै अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान एवं हरेक खेलका म्यान अफ दि म्याच लाई बिशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तरगत माघ ८ गते एक प्रि क्वाटर सहित सात वटा खेल संचालन हुनेछन । प्रि क्वाटरमा बुटवल भेट्रान र टि वर्गर ललितपुर भिड्नेछन । अन्य लिग अन्तरगतका खेलमा अभिषेक चर्च नवलपुरका विरुद्ध फ्रिडम एफसी ललितपुर, एविसी पोखरा र पश्चिम नवलपरासी, किङकम काठमाडौ र नाइटकिङ काठमाडौ, सङम एफसी पोखरा र चितवन भेट्रान, बानेश्वर काठमाडौ र एमआईएमआई वाएन काठमाडौका विच खेलहुने प्राविधिक संयोजक खगेन्द्र गुरुङले बताए ।

कमेन्टहरु
Loading...