राजनीतिमा युवाको भूमिका बारे पोखरामा बहस

पोखरा, ५ साउन/युवालाई कसरी राजनीतिमा समाहित गराउने, भूमिका कस्तो हुने, अहिलेको अवस्था कस्तो छ, किन राजनीतिप्रति युवाको आकर्षण बढ्न र नेतृत्वदायी भूमिकामा छैनन्, नेपाल तथा बाहिरका देशमा युवाको भूमिका कस्तो छ र युवाले राजनीतिसँग जोडिएका विभिन्न विषयमा कसरी आवाज उठाउने ? जस्ता विषयमाथि पोखरामा युवाले बहस गरेका छन् ।

राजनीतिमा युवाको भूमिका बारे पोखरामा बहस
राजनीतिमा युवाको भूमिका बारे पोखरामा बहस

युवा राजनीतिक दलबाट प्रयोग मात्रै हुने नभइ नयाँ कुराको खोज र अध्ययन गर्दै वैकल्पिक राजनीतिमा आफ्नो भूमिका र नेतृत्व गर्ने क्षमता बढाउनुपर्नेमा सहभागीले जोड दिए । आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक लगायत विभिन्न क्षेत्रमा राजनीतिले कस्तो प्रभाव पारेको छ र समृद्धिका लागि युवाको भूमिका केके हुने भन्ने विषयमा विभिन्न कार्यपत्रमाथि बहस र छलफल भएको हो ।

समृद्धिका लागि युवा भन्ने नारासहित राष्ट्रिय युवा अभियान कास्कीले गरेको ‘नयाँ शक्ति निर्माण अभियानमा युवाको भूमिका’ विषयक राष्ट्रिय युवा परिसंवाद कार्यक्रममा वैकल्पिक राजनीतिको रुपमा उदाएको नयाँ शक्तिसहित समग्र राजनीतिक अवस्थाका विषयमा ६ जना युवाले कार्यक्र प्रस्तुत गरेका थिए ।

वैकल्पिक राजनीतिक विचारधारा र यसबारे ओरिन्टेसनमा गनेश पौडेल, वैकल्पिक राजनीतिमा युवाको भूमिका विषयमा सुदर्शन खतिवडा, विश्व अर्थतन्त्रको दिशा, विकासको मौलिक मोडेल र प्रदेशको संभावना विषयमा गोविन्दराज केसी, आइटीको प्रभाव र आइटीमैत्री राजनीतिक राजनीति शीषकमा हरिराम रिमाल, क्वान्टम भौतिकीको सिद्धान्तमा मोहन तिम्सिना र अन्तर्राष्ट्रिय सम्बन्ध, सामरिक संभावना र सन्तुलित परराष्ट्र नीति शीर्षकमा दामोदर त्रिपाठीले बहसका लागि कार्यपत्र प्रस्तुत गरेका थिए ।

युवालाई राजनीतिक दलले संरक्षण गर्छन् र युवाले राजनीतिका नाममा अरु नै धन्दा गर्छन् भन्ने एकाथरीको आरोप र दलले युवालाई प्रयोगमात्रै गरे राजनीतिक पहुँच तथा नेतृत्वमा जान दिएनन् भन्ने अर्को आरोपका बीचको युवाको भूमिका विषयमा बहस हुन जरुरी रहेकाले परिसंवाद कार्यक्रम राखिएको राष्ट्रिय युवा अभियानका प्रशिक्षण विभाग प्रमुख सौगात पोखरेलले बताए ।

कार्यक्रमका सबै सहभागीलाई प्रमुख अथितिका रुपमा आसन ग्रहण गराएर कुनै पनि नेतालाई मन्तव्यका लागि नराखी कार्यक्रममा सिधै बहस थालिएको थियो । नयाँ निर्माण अभियानमा युवाको भूमिका बहसको नाम दिइएको भए पनि सहकार्यको राजनीति हुनुपर्छ भन्ने मान्यताले सबै विचारधारका युवालाई सहभागी गराएर खुल्ला सहभागितामूलक संवाद गरिएको राष्ट्रिय युवा अभियान कास्कीका संयोजक रेशम योगीले जानकारी दिए । युवा अभियानका केन्द्रीय सदस्य भरत गुरुङले अभियानका विषयमा जानकारी दिँदै स्वागत गरेका थिए भने पत्रकार अमृत सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...