संविधान संसोधन नभए सरकार छाड्छौः उपप्रधानमन्त्री यादव

पोखरा ९, चैत /नेपाल सरकारका उपप्रधान, स्वास्थ्य तथा जनसङख्या मन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन नभए सरकार छाड्ने चेतावनी दिनुभएको छ।

संघीय प्रेस फोरम, कास्कीद्धारा पोखरामा शनिवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री यादवले हतारमा जारी गरिएको अधुरो र अपुरो संविधान संशोधन गर्ने प्रधानमन्त्री केपी ओलीबाट पटक पटक वचनवद्धता भएकाले केही समय धैर्यता गर्ने, यदि संविधान संशोधन नगर्ने अवस्था आए सरकारबाट बाहिरिने बताउनुभएको हो।

दुइ बुँदे सहमतिका आधारमा सरकारमा गएको हो, ढिलोचाँडो संविधान संशोधन हुनेमा आफु विश्वस्त भएको यादवले बताउनुभयो। सरकारले संविधान संशोधन, आर्थिक समृद्धि वा विकास र राजनीतिक स्थिरताका लागि प्राथमिकता दिनुपर्ने उहाँको भनाई थियो। द्धन्द्धबाट मुलुक अग्रगतितर्फ लम्कन सक्दैन भन्ने विप्लवलाई पनि थाहा छ, सहमतिबाटै राजनीतिक सहमति खोज्नुपर्ने यादवले बताउनुभयो।

सिके राउतसँगको सहमतिका बारेमा पत्रकारहरुले जिज्ञासा राख्दा मन्त्री यादवले जेलबाट छुट्न सिके राउतले सहमति मात्रै होइन उसले उठाउदै आएको मुद्धा छाडेको बताउनुभयो। देशलाई आर्थिक विकास र समृद्धिको लागि पर्यटन, कृषि र जलबिद्युतमा विशेष जोड दिनुपर्ने बताउनुभयो। विकासले जुन गति लिनुपर्ने हो, त्यो हुन नसकेकाले संघीयतामाथि नै प्रहार हुन थालेको समेत उहाँको भनाई थियो।

पार्टी एकताको चर्चाका बारेमा पत्रकारहरुले जिज्ञासा राख्दा उहाँले भन्नुभयो, राजपा, नयाँशक्ति, जनमुक्ति लगायतसँग एकताका लागि पहलहरु भईरहेको छ। राजपाले सरकारलाई दिएको समर्थन फिर्ता भनिए पनि प्रदेश र स्थानियमा राजपा सरकारमै रहेकाले सरकार छाडेको भन्न नमिल्ने फोरम अध्यक्षको भनाई थियो। राजपासँग एकताका लागि सरकार छाड्नुपर्ने शर्त आयो नि भन्ने प्रश्नमा उहाँले पहिलो पार्टी एकता अनि एकिकृत पार्टीले सरकारमा रहने नरहने निर्णय गर्ने बताउनुभयो।

कर्मचारी र बजेटको अभाव छ भन्नुहुदै उहाँले स्वास्थ्य मन्त्रालयमा हाल ४.४ प्रतिशत बजेट मध्ये ४ प्रतिशत तलबमा जाने र ०.४ प्रतिशतले कस्तो विकास हुन्छ भन्नुहुदै आउदो बजेट बृद्धि गरी जनताका स्वास्थ्य सेवाका लागि अस्पताल, उपकरण, जनशक्ति बृद्धि गर्ने योजना रहेको बताउनुभयो। देशमा २१ हजार चिकित्सक आवाश्यक रहेकोमा हाल हाल १ हजार ४ सय जना सरकारी चिकित्सकको सेवा दिनु परेको उहाँले बताउनुभयो।

पत्रकार सम्मेलन संघीय प्रेस फोरम तमुवानका संयोजक हुम तमुको अध्यक्षता र शुसान्त गाहा मगरले सञ्चालन गर्नुभएको थियो।

यसैगरी अर्को कार्यक्रम संघीय समाजवादी फोरम कास्कीको अगुवा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा फोरमका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनले प्राप्त उपलब्धिलाइ संस्थागत गर्दै थप अधिकारका लागि सरकार, संसद र सडक तिनै बाटो प्रयोग गर्ने बताउनुभयो ।

कम्युनिष्ट र काँग्रेसले गुगलमा सर्च गरी गरी मौलिक अधिकार संविधानमा समावेस गरेर उत्कृष्ठ संविधानको प्रचार गरे अहिले उनैले जबरजस्त जारी गरेको संविधान कार्यन्वयन गर्न कानुन बनाउन चाहेका छैनन्। संविधान संशोधनका माग गरिरहने हामीले मौलिक हकको धारा पल्टाएर कानुन बनाउन झकझकाउने अवस्था आएको छ, उनीहरुले संघीयता, समावेशीता लगायत संविधानमा उल्लेख भएको अधिकार समेत कटौती गर्ने षडयन्त्र गरिरहेको यादवले आशंका व्यक्त गनुृभयो।

कम्युनिष्ट नाम मात्रै भो, कम्युनिष्ट भन्दै घुस, कमिशन, भ्रष्टचारमा तल्लिनछन्, काँग्रेस विपक्षीको भुमिका खेल्नै सकेन बरु हिन्दु र राजाको पछि लाग्न थालेको उहाँको आरोप थियो। उनीहरुबाट मुलुक समृद्धिको कुनै संभावना नै नभएकाले बैकल्पिक शक्तिको रुपमा संघीय समाजवादी फोरम स्थापित हुने दावी गर्नुभयो।

कमेन्टहरु
Loading...