पोखरा ८ मा एमालेको चुनावी अभियान

पोखरा, २४ वैशाख / नेकपा एमाले केन्द्रीय सल्लाहाकार परिषदका उपाध्यक्ष तथा पूर्व मन्त्री खगराज अधिकारीले लोकतन्त्र र देशलाई जोगाउन एमालेलाई भोट हाल्ने बताएका छन् । नेकपा एमाले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ८ को चुनावी सभामा नेता अधिकारीले यसपालीको चुनावमा लोकतान्त्रिक र राष्ट्रवादीहरुले एमालेलाई सघाउने बताए ।

उनले देशलाई संकट परेको वेलामा कम्युनिष्ट र राष्ट्रवादीहरु एकजुट हुन पर्ने उल्लेख गरे । ‘कांग्रेस माओवादी केन्द्रले गरेको अपवित्र गठबन्धनलाई कार्यकर्ताहरुले मान्दैनन्’ उनले भने, ‘माओवादी केन्द्रका कार्यकर्ताहरु कांग्रेसको रैती नबनेर सूर्यमा भोट हाल्ने छन् ।’

नेता अधिकारीले बिगतमा वडा नम्बर ८ मा कांग्रेसले डकैती पाराले वुथ लुटेर चुनाव जितेको आरोप लगाए । उनले पास हुन नसक्ने महाभियोगको प्रस्ताबमा कांग्रेस माओवादी चुनावमा समेत नैतिक रुपमा पराजित भएको बताए । पूर्व मेयर कृष्ण थापाको अगुवाईमा पोखरा सबभन्दा धनी र सफा सहर भएको उनले उल्लेख गरे ।

निर्वाचन परिचालन समितिका संयोजक ईश्वरप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा ध्रुव पौडेल र राजेश कुँवर नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । एमालेको राष्ट्रियताको एजेण्डा मन परेर पार्टी प्रवेश गरेको उनीहरुले बताए । वडा कमिटीका अध्यक्ष राजकुमार गिरी, निर्वाचन परिचालन समितिका सह संयोजक मिनप्रसाद भट्टराई, वडा अध्यक्षका उम्मेद्वार रुद्रनाथ बराल लगाएतले वोलेका थिए ।

कमेन्टहरु
Loading...