एमाले -माओवादीको एकता टुंग्याउने यस्तो तयारी

काठमाडौं, २ फागुन /एमाले र माओवादी केन्द्रका अध्यक्षले पार्टी एकताको गर्ने टुंगो लगाएका छन् । सोमबार र मंगलबार लगातार बैठक बसेर उनीहरूले एकीकृत पार्टीको नेतृत्वमा दुवै नेता सहअध्यक्षका रूपमा रहने र सरकारको नेतृत्व पालैपालो गर्ने मोडलमा समझदारी तयार गरेका हुन् ।

एकता घोषणापछिको निरन्तर छलफललाई निर्णायक मोड दिँदै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकीकृत पार्टीमा दुवै सहअध्यक्ष रहने गरी (एकता महाधिवेशनसम्मका लागि) संक्रमणकालीन मोडलमा सहमति गरेका हुन् ।

एमाले र माओवादी केन्द्रबीच एकताको अन्तिम मोडालिटी एकता संयोजन समितिको बुधबार बस्ने बैठकले टुंगो लगाउनेछ । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले संयोजन समितिको बैठकबाट एकताको मोडालिटी अनुमोदन गरी पार्टी एकता गर्ने समझदारी गरेका हुन् ।

ओली र प्रचण्डबीच मंगलबार बेलुकी ललितपुरमा साढे दुई घन्टा छलफल भएको थियो । छलफलले एकताको मोडालिटी टुंगो लगाएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘दुई अध्यक्षले पार्टी एकताको मोडालिटी टुंगो लगाउनुभएको छ,’ ज्ञवालीले भने, ‘उहाँहरूबीच भएको अन्तिम समझदारीअनुसार बुधबार एकता संयोजन समितिको बैठक बस्नेछ र सोहीअनुसार निर्णय हुनेछ ।’

पार्टी एकतासँगै प्रधानमन्त्रीका रूपमा केपी ओलीले सरकारको नेतृत्व गर्नेछन् भने प्रचण्डले कार्यकारी प्रमुखका रूपमा एकीकृत पार्टीको नेतृत्व सम्हाल्नेछन् । एकताको अन्तिम टुंगो लगाउन दुई पार्टीका नेता सम्मिलित एकता संयोजन समितिको बैठक बुधबार बस्दै छ । पार्टीको नाम, मूल नेतृत्व, स्थायी समिति र केन्द्रीय कमिटीको आकार र स्वरूप, सैद्धान्तिक, वैचारिक कार्यदिशा, नयाँ सरकार गठनलगायतका विषय बैठकका एजेन्डा छन् ।

एमाले उपाध्यक्ष वामदेव गौतमले दुई अध्यक्षले एकताको खाकाको टुंगो लगाए पनि बैठकका एजेन्डा जानकारी नगराएको बताए । ‘वार्ताबाट एकताको मोडालिटी टुंगिएको जानकारी भए पनि एजेन्डाबारे कुनै जानकारी दिनुभएको छैन, सबै कुरा संयोजन समितिको निर्णयपछि बाहिर ल्याउने तयारी छ,’ गौतमले भने ।

प्रचण्डसँगको अन्तिम समझदारीपछि ओलीले मंगलबार बेलुकी एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवालीलगायतका केही निकटस्थ नेताहरूसँग सुझाब लिएका छन् । बैठकका एजेन्डालाई अन्तिम रूप दिन बुधबार बिहान पनि दुई अध्यक्षबीच छलफल हुने र दिउँसो एकता संयोजन समितिको बैठक बस्ने ज्ञवालीले जानकारी दिए । ‘बिहान दुई अध्यक्षबीच एकपटक छलफल हुन्छ र दिउँसो एकता संयोजन समिति बैठक बसेर सबै कुरा टुंगिन्छ,’ उनले भने । स्रोतका अनुसार दिउँसो २ बजे संयोजन समितिको बैठक बस्नेछ ।

वैचारिक र सैद्धान्तिक विषयमा कार्यदलमार्फत गृहकार्य गर्ने दुई दलबीच समझदारी छ । समाजवादउन्मुख समृद्धिको कार्यदिशामा अघि बढ्ने, जबज र २१औँ शताब्दीको जनवादका समानताहरूको पहिचान गर्ने र हल हुन नसकेका विषयलाई एकता महाधिवेशनमा लैजाने दुई दलबीच समझदारी छ ।

एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई वरिष्ठ नेताको मर्यादाक्रममा राख्ने, पदाधिकारी, स्थायी समिति र केन्द्रीय कमिटीको स्वरूप, प्रदेश, जिल्लादेखि गाउँ तहसम्मको एकताको विधि, भ्रातृ संगठनहरूको एकताको विधि र प्रक्रियालगायतका विषयमा कार्यदलले गृहकार्य गर्नेछ ।

कमेन्टहरु
Loading...