एकीकृत माओवादीको चारवटै क्षेत्रमा चुनावी अभियान

पोखरा, १७ कात्र्तिक /एकीकृत माओवादीले चारवटै निर्वाचन क्षेत्रमा आज पनि चुनावी अभियान जारी राखेको छ । क्षेत्र न. १ का उम्मेदवार विष्णु पौडेलले विभिन्न स्थानमा मतदातासँग भेटघाट र कोणसभा गर्नुभएको छ । लेखनाथको वडा न.९ लामास्वाँरामा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले काँग्रेस, एमालेले दशौं वर्ष शासन गरेकै कारण मुलुक विकसित नभएको बताउनुभयो । उहाँले अबको १० वर्ष एकीकृत माओवादीले एकलौटी रुपमा सत्ता चलाउने अवसर पाए मुलुकले नयाँ गति लिने भनाई व्यक्त गर्नुभयो । त्यसै गरि कास्की क्षेत्र न.४ को पुम्दीभुम्दी गाविसमा एकीकृत माओवादीको चुनावी सभा सम्पन्न भएको छ । चुनावी सभालाई सम्बोधन गर्दै एमाओवादीका केन्द्रीय सदस्य अमर तमुले देशभरी देखिएको एमाओवादीले लहरले दुई तिहाई सुनिश्चित भैसकेको ठोकुवा गर्नुभयो । उहाँले पहिला चुनावी अनुभवको कमिकै कारण कास्कीमा एउटा क्षेत्रमा पराजय भोग्नुपरेपनि यसपटक चारवटै निर्वाचन क्षेत्र जित्ने दावी गर्नुभयो ।
कार्यक्रममा क्षेत्र न.४ का उम्मेदवार गुप्तबहादुर हमालले जनमुखी संविधान निर्माण र पुम्दीभुम्दीको विकास निर्माणका लागि एकीकृत माओवादीलाई भोट दिन आग्रह गर्नुभयो । त्यसै गरि कास्की क्षेत्र न.२ आर्वाविजय गाविस वडा न.८ को पोखरी गाउँमा एकीकृत माओवादीको चुनावी कोणसभा सम्पन्न भएको छ ।

कोणसभामा उम्मेदवार बखानसिंह तमु (आभाष) ले समुन्नत र समृद्ध नेपालका लागि एमाओवादीको नीति र नेतृत्वको आवश्यकता रहेकोले एमाओवादीलाई नै विजयी गराउनुपर्ने बताउनुभयो । कार्यक्रममा एकीकृत माओवादीका राज्य सदस्य शिवबहादुर बराल, गाउँ कमिटी सचिव शिवप्रसाद बराल, स्थानीय समाजसेवी धनकुमारी तमु, वाईसीएल गाविस अध्यक्ष दिनेश सुनारले माओवादीलाइ मतदान गर्न आग्रह गरेका थिए ।
त्यसै गरि कास्की निर्वाचन क्षेत्र न.३ मा एकीकृत माओवादीका उम्मेदवार रामजीप्रसाद बराज जीवनले एकीकृत माओवादीको विजय अभियानलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । पोखराको सृजनाचोकमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार बरालले दुई तिहाई मतले विजय हुने एमाओवादी अभियान पुरा भएरै छाड्ने बताउनुभयो ।

कमेन्टहरु
Loading...