पोखरामा विवेकशील साझाको संगठन विस्तार तथा प्रदेश सँयोजक घोषणा हुने

पोखरा, ८ कात्तिक/ पोखरामा विवेकशील साझा पार्टीको संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रम हुने भएको छ । विवेकशील साझाको देशव्यापी संगठन विस्तार कार्यक्रम अन्तरगत पोखरामा जिल्ला कमिटिको सँयोजनमा प्रदेशस्तरिय यो कार्यक्रम हुन लागेको हो ।

कात्तिक ९ र १० गते हुन लागेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको विवेकशील साझा पार्टी जिल्ला कमिटि कास्कीले जनाएको छ ।

यो कार्यक्रमका लागि पार्टीका शिर्ष नेताहरु पोखरा आउने जिल्ला सचिवालयका सदस्य सुरेश पहारीले जानकारी दिए । सचिवालयले दिएको जानकारी अनुसार विवेकशील साझाका सँयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापा सहित केन्द्रीय नेताहरु केशव दाहाल, डा. सूर्यराज आचार्य, रञ्जु दर्शना लगाएत पोखरा आउने कार्यक्रम रहेको छ ।

कार्यक्रममा सँयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापाले विवेकशील साझाको राजनीतिक मूल्य र मान्यताको विषयमा आफ्ना धारणाहरु राख्नेछन् । त्यस्तै डा. सूर्यराज आचार्यले विवेकशिल साझा पार्टीको राजनीतिक दर्शन र अर्थतन्त्र विषयमा आफ्नो विचार राख्नेछन् ।

अर्का नेता केशव दाहालले नेपालमा वैकल्पिक राजनीतिको औचित्यको बारेमा प्रकाश पार्नेछन् भने युवा नेतृ रञ्जु दर्शनाले युवा पुस्ता राजनीति र सामाजिक अभियानको विषयमा बोल्नेछन् ।

‘सेड्युल’अनुसार कात्तिक ९ गते शुक्रबार संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रम हुनेछ भने कात्तिक १० गते शनिबार विवेकशील साझाको गण्डकी प्रदेश संयोजक घोषणा गर्ने कार्यक्रम रहेको छ । गण्डकी प्रदेश सँयोजक घोषणाका लागि पार्टीले विशेष तयारी गरिरहेको छ ।

प्रदेश सँयोजक घोषणा कार्यक्रम पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने सचिवालयले जानकारी दिएको छ । घोषण कार्यक्रममा सबै सर्वसाधारणहरुले सहभागिता जनाउन सक्नेछन् ।

कमेन्टहरु
Loading...