पोखराको लेकसाइडमा नेविसंघको राँके जुलुस, प्रधानमन्त्रीको पुत्ला जलाईयो

पोखरा, १ जेठ/ नेपाल विद्यार्थी संघ कास्कीका नेताहरुले भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै बिहीबार पोखरामा विरोध प्रदर्शन गरेका छन् ।

पोखराको पर्यटकीय नगरी लेकसाईडमा नेविसंघका विद्यार्थीहरुले खहरेचोकदेखि राँके जुलुश प्रदर्शन गर्दै हल्लनचोकमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका थिए ।

‘लिपुलेक हाम्रो हो’, ‘अतिक्रमण बन्द गर’, ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘भ्रष्ट नेता होशियार’, ‘भारतीय सेना कालापानीबाट फिर्ता गर’ लगायतका नाराहरु लगाउँदै नेविसंघ पोखराका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् ।

नेविसंघका नेता लक्ष्मण पहारी, नेविसंघ वडा नम्बर ६ का ईकाई सचिव शिशिर पहारी, तरुण दल वडा नम्बर ६ का सचिव प्रकाश न्यौपाने, जनप्रिय बहुमुखी क्याम्पस नेविसंघका उपसभापति आदित्य देवकोटा, जनप्रिय बहुमुखी क्याम्पस नेविसंघका सहसचिव शंकर पहारी र सदस्य नवराज विश्वकर्मा लगायतका नेता तथा विद्यार्थीहरुले सरकारले यस विषयलाई गम्भिरताका साथ नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

कमेन्टहरु
Loading...