मत बदले देश बदलिन्छः उम्मेदवार केसी

पोखरा, ५ मंसिर/ कास्की क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा साझा पार्टीबाट उम्मेदवार बनेकी रजनी केसीले जनताले मत बदले देश बदल्न कुनै समस्या नरहेको बताएकी छन् ।

बिहीबार पोखरा १७ छोरेपाटनमा आयोजना गरिएको चुनाव लक्षित कोणसभालाई सम्बोधन गर्दै उनले सधैं कम्युनिष्ट र काङ्ग्रेस भनेर बसिरहे देश परिवर्तन हुन नसक्ने बताइन् ।

छिमेकीले देशको भूमि अतिक्रमण गर्दा पनि कुनै पहल नगर्नाले सरकारको कार्य क्षमता माथी नै प्रश्न उठाएको उनले बताइन् । उनले आफू सधैं नातावाद, कृपावादको विपक्षमा रहेको स्पष्ट पारिन् ।

गल्ती सुधार गर्ने अवसर – संयोजक मिश्र

सभालाई सम्बोधन गर्दै साझा पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्रले नेपाली राजनीति परिवर्तन गर्न पुराना दल बाधक बनेको बताए ।

सबैलाई डर र त्रासमा राखेर गरिएको राजनीतिले गर्दा देश पछाडि परेको उनको भनाइ थियो ।  दुई फरक पार्टीलाई पालैपालो मत दिएर गरिएको गल्ती सुधार गर्ने अवसर उपनिर्वाचनले दिएको बताए ।

सकारात्मक सोच भए देश बदल्न कठिन नभएको उनको जिकिर छ । उनले जनताले जिताएर पठाएका नेताहरु काण्डैकाण्डमा मुछिएर देश नै खोक्रो बनाइसकेको बताए ।

सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य विकल शेरचनले राजनीतिज्ञहरु चुनाव केन्द्रित मात्र नभइ जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिए । इमानको राजनीति गरेर साझा पार्टीले छोटो समयमा सकारात्मक छाप छोड्न सफल भएको बताउँदै उनले कम्युनिष्ट र काङ्ग्रेसको सहि विकल्प साझा पार्टी भएको दाबी गरे ।

यस्तै पार्टीका कास्की जिल्ला संयोजक अर्जुन प्रसाद खनालले व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको बताए। मन र मत परिवर्तन गरे विदेशीको अगाडि घुँडा टेक्नुपर्ने अवस्था अन्त्य हुने उनले स्पष्ट पारे ।

उनले विध्वंसलाई पछि छाडेर साझा पार्टी असल विचार लिएर देश विकासको लागि अगाडि बढिरहेको धारणा राखे । उम्मेदवार केसीसहितको टोली बिहिबार पोखरा १७ को बिरौटा, छोरेपाटन, महतगौँडालगायतका स्थानमा पुगेको थियो ।

कमेन्टहरु
Loading...