राजनीतिक नेतृत्वकै कारण विकासले गति लिन सकेको छैनः डा. सूर्यराज आचार्य

पोखरा, १८ फागुन/पूर्वाधार विज्ञ भनेर चिनिँदै आएका विवेकशील साझाका नेता डा. सूर्यराज आचार्यले राज्य संचालनमा ‘लिडरशिप’ अभाव भएकै कारण नेपालमा विकासले गति लिन नसकेको बताएका छन् ।

यूथ थिंकर्स सोसाइटी पोखरा च्याप्टरले महिनैपिच्छे गर्दै आएको विशेष कार्यक्रम ‘पोखरा बोल्छ’ को सेसनमा बोल्दै आचार्यले राजनीतिक ईच्छाशक्ति हुने हो भने विकासले गति लिन समय नलाग्ने उनले तर्क पेश गरे । ‘राजनीतिक नेतृत्वमा रहेका नेताहरु काम गर्नुको साटो सपना मात्रै बाँड्दै हिँड्छन् । भाषणबाजी मात्रै गरेर विकास हुँदैन । त्यसका लागि त फिल्डमै उत्रिनुपर्छ ।’ आचार्यले भने ।

त्यसो त आचार्यले नेपालमा विकासका पूर्वाधार सम्बन्धि खासै छलफल नै नभएको पनि बताए । त्यसैमाथि भैरहेका विकास निर्माणमा काममा पनि बाह्य चासोले झन् बढि गिजोलेको उनको बुझाई छ । ‘फिल्डमा काम भैरहँदा पनि एनजिओ र आइएनजिओहरुको अनावश्यक चासो र स्वार्थले विकासको गति ढिमा भैरहेको यथार्थ छ ।’ आचार्यले भने–‘विकासको गतिलाई साँच्चिकै अगाडि बढाउन राजनीतिक नेतृत्वको ईच्छाशक्तिलाई बढाएर बाह्य प्रभावलाई न्यूनिकरण गर्नेतर्फ लाग्नुपर्छ ।’

लामो समय टोकियो यूनिभर्सिटीमा अध्यापन गरेका आचार्य अन्तराष्ट्रिय ‘थिंक ट्यांक’को रुपमा पनि परिचित छन् । ‘पोखरा बोल्छ’ को १६ औँ सेसनको क्रममा पोखरा आईपुगेका पूर्वाधार विज्ञ आचार्यलाई यूथ थिंकर्स सोसाइटी पोखरा च्याप्टरका अध्यक्ष सजुमा घिमिरेले विभिन्न प्रश्न गरेकी थिईन् । ‘नेपालमा पूर्वाधार विकासको सम्भावना र चुनौती’ शिर्षकमा बोलिरहेका आचार्यलाई फोरमबाट पनि विभिन्न व्यक्तिहरुले प्रश्न राखेका थिए ।

‘सामाजिक शिक्षा नेपालीमै पढाउनुपर्छ’

यसैबीच डा. सूर्यराज आचार्यले विद्यालयमा ‘सामाजिक शिक्षा नेपालीमै अध्ययन गर्नुपर्छ’ अर्को एक अन्तरक्रिया कार्यक्रमा पनि सहभागिता जनाए ।

सो कार्यक्रममा बोल्दै उनले शैक्षिक पूर्वाधार नै कमजोर भएका कारण नेपालको सबै क्षेत्रमा समस्या आएको बताए । ‘देश विकासमा शैक्षिक पूर्वाधारको विकास महत्वपूर्ण हुन्छ । तर यो विषयमा जति ध्यान दिनुपर्ने हो, त्यति दिईएको छैन ।’ आचार्यले भने ।

उनले विद्यालयहरुमा पाठ्यक्रम बनाउँदा भाषालाई सबैभन्दा माथि राख्नुपर्नेमा जोड दिए । सामाजिक शिक्षा अध्ययनका लागि त झन् अँग्रेजी भाषा प्रयोग गर्नै नहुने उनको तर्क थियो ।

अन्तरक्रियामा उनीसँगै डा. बसन्त गौतम र विश्व सिग्देल वक्ता थिए । अन्तरक्रियामा सबै वक्ताहरुले भाषालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए । नेपालमा अँग्रेजी भाषाको प्रभाव बढ्दै जाँदा पछिल्लो छिमलका युवापुस्ता र बालबालिकाको भाषिक ज्ञान कमजोर हुँदै गएको उनीहरुको तर्क थियो ।

अझै सामाजिक शिक्षाले नेपालको भाषा, सँस्कृति, ईतिहास, भूगोल र राजनीतिको विषयमा ज्ञान दिने भएकोले अन्य भाषामा यो विषयको पढाई हुँदा विद्यार्थीहरुले सहि तरिकाले बुझ्न नसक्ने बताएका थिए ।

कमेन्टहरु
Loading...