सुशील कोइराला प्रधानमन्त्री निर्वाचित

काठमाडौ, २७ माघ/नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनी मुलुकको ३७ औं र गणतन्त्र नेपालको पाँचौ प्रधानमन्त्री हुन् । ७८ वर्षीय कोइराला सोमबार व्यवस्थापिका संसदमा भएको निर्वाचनमा कोइराला ४ सय ५ मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

सुशील कोइराला
सुशील कोइराला

कोइरालालाई कांग्रेससँगै एमाले, राप्रपा, मालेसहितका दलहरुले मत दिएका छन् । सातबुँदे सहमतिसँगै एमाले नेता केपी शर्मा ओलीको समर्थनमा कोइराला उम्मेदवार बनेका थिए । संसदमा ५ सय ५३ सभासद उपस्थित भएकोमा १ सय ४८ ले भने विपक्षमा मतदान दिएका छन् । एकीकृत नेकपा माओवादी राप्रपा नेपालसँगै मधेसी दलहरु विपक्षमा छन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि कोइरालाले एक वर्षभित्र संविधान निर्माण गर्न प्रतिवद्ध रहेको बताए । उनले शान्ति, स्थायीत्व, लोकतन्त्र र विकासका लागि काम गर्ने समेत बताए । यसअघि प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत गर्दै कोइरालाले आफ्नो १२ प्राथमिकता सार्वजनिक गरेका थिए । जसमा ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने र एक वर्षभित्र संविधान जारी गर्ने वातावरण बनाउने बताएका छन् ।

कमेन्टहरु
Loading...