वामपन्थी बहुमत आए देश संकटमा जान्छ- गिरि

पोखरा, २९ कात्तिक/नेपाली काङ्ग्रेस क्षेत्र नं ३ ले चुनावी प्रचार गर्ने क्रममा पोखराको चिप्लेढुंगामा शुक्रबार बृहत चुनावी सभा सम्पन्न गरेको छ । निर्वाचन परिचालन समिति क्षेत्र नं ३ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप गिरिले दोस्रो संविधान सभाको निर्वाचनमा वामपन्थीहरुको बहुमत भए फेरि संविधान नबन्ने ठोकुवा गर्नुभयो ।

उहाँले कम्युनिष्टहरु सच्चा कम्युनिष्ट हुन नसक्दा देशले निकाश पाउन नसकेको दावी गर्नुभयो । नेता गिरिले पहिलो संविधान सभामा नेकपा एमालेले सच्चा कम्युनिष्ट बन्न नसकेको भन्दै कम्युनिष्टहरुले सिद्धान्तलाई विर्सिएको जिकिर गर्नुभयो । उहाँले दश वर्षे जनयुद्धमा बन्दुकको राजनिति गरेको पार्टीलाई ढुंगाको राजनितिमा ल्याएको भन्दै कांग्रेस नै शान्ती र विकासको सम्भवहक भएको दावी गर्नुभयो । कांग्रेसको प्रखरबक्त समेत रहेका गिरिले नेपाली कांग्रेस इतिहास बोकेको पार्टी भएको भन्दै रुख चिह्नमा भोट दिन आग्रह गर्नुभयो ।

सभामा पुर्व सभामुख तथा कांग्रस नेता तारानाथ रानाभाटले पहिलो संविधान सभा निर्वाचनमा एमाओवादीले डर धम्की देखाएर भोट लुटेको भन्दै यसपटक पराजय हुने ठोकुवा गर्नुभयो । उहाँले शान्ती स्थापना गर्नैका लागि कांग्रेसको नेतृत्वमा निर्वाचन गराएर माओवादीलाई विजय गराएको भन्दै अव पुनः त्यस्तो सौभाग्य नमिल्ने दावी गर्नुभयो । उहाँले पटक पटक देशको नेतृत्व पाए पनि देशमा शान्ती तथा संविधान निर्माण गर्न नसकेको जिकिर गर्नुभयो ।

त्यसैगरि कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार शोभियत बहादुर अधिकारीले स्थायी शान्ति, विकास र संविधान निर्माणका लागि नेपाली कांग्रेसलाई जिताउनुपर्नेमा जोड दिनुभयो । उहाँले लोकतन्त्र प्राप्ती पछि कम्युनिष्टहरुको नेतृत्व भए पनि देश विकास तथा शान्ती स्थापना हुन नसकेको भन्दै कांग्रेस मात्र विकल्प रहेको ठहर गर्नुभयो ।

उम्मेदवार अधिकारीले कांग्रेसको नेतृत्वमा मात्रै देशले निकास पाउने भएकाले कांग्रेसलाई विजयी गराउन आग्रह गर्नुभयो । चुनावी सभामा समानुपातिक तर्फका उम्मेदवार सुनियना पालिखे, वृन्दा राना, शुक्रराज शर्मा, देवराज चालिसे लगायतले कांग्रेस नै देशको आवश्यकता रहेकाले रुख चिह्नमा भोट गरि सहयोग गरिदिन आग्रह गरेका थिए । क्षेत्र नम्बर ३ का सभापति शोभाचन्द्र बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व सभापति विरेन्द्र नारायण विजुक्छेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कमेन्टहरु
Loading...