पर्वतमा आचारसंहिता उलंघनका घटनाहरु बढ्दै

अगन्धर तिवारी
पर्वत– संविधानसभाको निर्वाचन नजिकिंदै गइरहेका बेला पर्वतका राजनीतिक दलहरुले निर्वाचन आयोगले तोकेको आचारसंहिता बिपरित कार्यहरु गर्दै आइरहेको पाइएको छ । विशेषगरि पर्वत जिल्लाका दुबै निर्वाचन क्षेत्रमा ठुला भनिएका तीन राजनीतिक दलहरुले आचारसंहिता बढी उलंघन गरेको भेटिएको छ । क्षेत्र नंवर २ मा एकिकृत नेकपा माओबादीका तर्फबाट उम्मेदवार बनेका राजकाजी गुरुङले यहि कात्तिक २८ र २९ गते गरि आफ्नो प्रचार सामाग्रि छापिएका टिसर्ट वितरण गरेको भेटिएको छ ।

एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने हुवासको कार्यक्रममा आएका कार्यकर्ता तथा युवाहरुलाई वितरण गर्नका लागि पोखराबाट ६ हजार प्रचार सामाग्रि छापिएका टिसर्ट मगाएको एमाओबादी स्रोतले जनाएको छ । गुरुङले हुवास लगायत जिल्लाको दक्षिणी भेगका अधिकांस गाविसहरुमा प्रचार सामाग्रि सहितका टोपी, टिसर्ट लगायतका सामाग्रि बाँडेको हुवासका स्थानीय युवा रमेश शर्माले बताए ।

त्यस्तै निर्वाचन आयोगले विहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै चुनावी प्रचार गर्न पाउनेगरि आचार संहिता जारी गरेको भएपनि नेकपा एमाले तथा नेपाली कांग्रेसका उम्मेदवार तथा कार्यकर्ताहरुले रातको १०–११ बजे सम्म पनि सवारी साधन प्रयोग र चुनावी सभा गरेको पाइएको छ । नेपाली कांग्रेसले क्षेत्र नंवर २ को खानीगाउँ र देविस्थान गाविसमा रातीमा आमसभा तथा ¥याली आयोजना गरेको भेटिएको छ । साथै एक राजनीतिक दलले अर्को राजनीतिक दलले गरेका चुनावी सभामा अवरोध पु¥याउन नपाउने बताए पनि नेपाली कांग्रेसले देविस्थानमा आयोजना गरेको चुनावी कार्यक्रमलाई नेकपा एमालेका कार्यकर्ताहरुले बिथोल्नुका साथै कांग्रेसका कार्यकर्तामाथी गत २५ गते साँझ आक्रमण गरेका थिए ।

यसैगरि पर्वतका साना राजनीतिक दलहरुले पनि आचारसंहिता उलंघन गरेको भेटिएको छ । यहि कात्तिक २९ गते शुक्रबार राप्रपा नेपालले सदरमुकामको अति व्यस्त शिवालय चोकमा चुनावी सभा आयोजना गरेर सवारी तथा सर्वसाधारणको आवागमनमा अवरोध पु¥यायो । केहि दिन अगाडी अखण्ड नेपाल पार्टीले गाउँमा आयोजना हुने चुनावी सभामा आचारसंहिता विपरित पाँचओटा सम्म सवारी साधन प्रयोग गरेको थियो । चुनावी प्रतिस्पर्धामा उत्रिएका पर्वतका १३ ओटै राजनीतिक दलहरुले सार्वजनिक ठाउँहरुमा पर्चा, पम्प्लेट टाँस्ने, आयोगले तोकेभन्दा ठुला साइजका उम्मेदवारका तस्विर सहितका प्रचार सामाग्रि टाँस्ने लगाउतका कार्यहरु गर्नेगरेका छन् ।

यता जिल्ला निर्वाचन कार्यालयले भने आचारसंहिता उलंघनका घटनाहरुको लिखित उजुरी नआएका हुनाले कारवाहि गर्न समस्या परेको जनाएको छ । राजनीतिक दलहरुले सार्वजनिक ठाउँहरुमा टाँसेका पर्चा, पम्प्लेट तथा बिभिन्न प्रचार सामाग्रि मुख्य निर्वाचन अधिकृतको कार्यालयको सक्रियतामा हटाइएको आचारसंहिता अनुगमन अधिकृत बिनोद रखालले बताए । रखालका अनुसार कुनै पनि व्यक्ति तथा राजनीतिक दलहरुले आचारसंहिता उलंघन गरेका उजुरी कार्यालयमा दर्ता भएका छैनन् ।

कमेन्टहरु
Loading...